
देशभर चिसो बढैको छ । चिसो बढेसँगै मानिसहरू न्यानो बनाउने विभिन्न उपाय अपनाइरहेका छन् । घरबाहिर निस्किँदा बाक्लो लुगा लगाएर निस्किने गरिन्छ । तर, घरभित्रि बस्दा भने गाउँघरमा आगो बालेर ताप्ने चलन छ ।
शहरमा घरभित्र आगो बालेर बस्न सम्भव हुँदैन । शहरमा घर र कोठा तातो राख्न एसी/हिटरको प्रयोग गर्ने गरिन्छ ।
हिटर बाल्दा सावधानी अपनाइएन भने धेरै ठूलो जोखिम पनि हुने गर्छ ।
विज्ञहरूले रुम हिटर कम प्रयोग गर्न सुझाव दिन्छन् । यसले गम्भीर खतरा पनि निम्त्याउन सक्छ । पछिल्ला केही वर्षयता रुम हिटरका कारण धेरैको मृत्यु हुने गरेको छ ।
अब सावधानी कसरी अपनाउने त ? रुम हिटर छोटो अवधिको लागि मात्र चलाउनु पर्छ । राति हिटर बालेर सुत्नु हुँदैन । यो घातक पनि हुन सक्छ ।
विज्ञहरूका अनुसार कोठामा भेन्टिलेसन ठीक नभएको खण्डमा रातभर हिटर चलाउँदा कोठामा कार्बन मोनोअक्साइड ग्यास भरिन्छ र अक्सिजन कम हुन्छ । यस्तो अवस्थामा सुत्दा पनि सास रोकिन सक्छ ।
रुम हिटरको साइड इफेक्टमध्ये पहिलो छाला सुख्खा हुनु हो । धेरैबेर हिटर बाल्दा छाला खस्रो र सुख्खा हुन्छ।
घरमा दम र श्वासप्रश्वासका बिरामी छन् भने हिटर कम प्रयोग गर्नुपर्छ । कपडा सुकाउन रुम हिटरको प्रयोग गर्नु हुँदैन ।
नजिकै बसेर हिटर ताप्नु हुँदैन । यसले छाला सुक्खा हुने, आँखामा समस्या आउने र नाकको रक्तनली फुट्नेजस्ता समस्या देखा पर्छन् ।
बालबालिकाको पहुँच पुग्ने ठाउँ वा बाटोमा हिटर प्रयोग गर्नु हुँदैन । पानी, चिया, कफीजस्ता पेय पदार्थ पिउँदै हिटर ताप्नु उचित हुन्छ । यसले छाला सुक्खा हुने समस्याबाट बचाउँछ ।