११ साउन २०८३, सोमबार

कृत्रिम टापुमा संसारको सबैभन्दा ठूलो एयरपोर्ट बनाउँदै चीन

पुस ४, २०८१
काठमाडौं
कृत्रिम टापुमा संसारको सबैभन्दा ठूलो एयरपोर्ट बनाउँदै चीन

चीनले देशको उत्तरपूर्वी तटमा रहेको कृत्रिम टापुमा संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भएको छ । ​

डालियान जिन्झाउ खाडीस्थित मानवनिर्मित टापुमा उक्त विमानस्थल बन्ने भएको हो । उक्त विमानस्थल २० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको टापुमा निर्माणाधीन छ ।

चार रनवे र नौ लाख वर्गमिटर क्षेत्रफलमा बन्ने यो विमानस्थलले प्रत्येक वर्ष ५ लाख ४० हजार उडानसँगै ८ करोड यात्रुलाई सेवा दिने लक्ष्य राखेको छ । विमानस्थल सन् २०३५ मा सञ्चालनमा आउने बताइएको छ ।

चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म वीच्याटमा बन्दै गरेको एयरपोर्टका तस्वीरहरू भाइरल भएका छन् । निर्माण सम्पन्न भएपछि यो हङकङ अन्तर्राष्ट्रिय विमानस्थल र जापानको कान्साई विमानस्थल भन्दा ठूलो बन्नेछ ।

डालियान एयरपोर्ट कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडका प्रमुख इन्जिनियर ली जियाङले परियोजना चुनौतीपूर्ण रहेको बताएका छन् । 

७५ लाख जनसंख्या भएको डालियान शहर लामो समयदेखि जापान र दक्षिण कोरियासँगको निकटताका कारण यातायातको केन्द्र रहँदै आएको छ । उक्त शहरमै सञ्चालित डालियान झोसुइजी एयरपोर्टले थप यात्रुसंख्या धान्न नसकेपछि नयाँ विमानस्थल बनाउन लागिएको हो ।

नयाँ विमानस्थल चीनको उड्डयन विकासको एक महत्त्वपूर्ण हिस्सा रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्