०५ असार २०८३, शुक्रबार
जनकपुर र सुदूरपश्चिमबीच उपाधि भिडन्त

एनपीएलको पहिलो उपाधि उचाल्न दुई परिचित प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा

पुस ६, २०८१
काठमाडौं
एनपीएलको पहिलो उपाधि उचाल्न दुई परिचित प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपीएल)ले आज (शनिबार) पहिलो विजेता पाउने छ । एनपीएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् । 

दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । उपाधि महाभिडन्त मध्याह्न साढे १२ बजे शुरू हुनेछ । सुदूरपश्चिमसामु आफ्नो परिचित प्रतिद्वन्द्वीमाथि जितको ह्याट्रिक गरेर उपाधि जित्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ । 

फाइनलअघि दुवै टीमका कप्तान आत्मविश्वासी देखिएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानमा शत प्रतिशत योगदान दिने र उपाधि जित्ने विश्वास व्यक्त गरे।

फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान ऐरीले फाइनलका कुनै विशेष योजना नबनाएको बताए । उनले भने, ‘त्यस्तो कुनै विशेष योजना छैन । दुई टिममध्ये एउटाले जित्ने हो । हामी मैदानमा शत्प्रतिशत दिन्छौँ ।’

यस्तै, जनकपुरका कप्तान आशिफ शेखले पनि फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । ‘आफूसँग जे जति छ, त्यो मैदानमा दिनेछौँ। फाइनल खेलको नतिजाका बारेमा अहिले नै सोचेका छैनौँ तर उत्कृष्ट प्रदर्शन गर्नेछौँ । क्वालिटी क्रिकेट खेल्छौं, उनले भने । ​

सुदूरले लिग चरणमा खेलेका सातमध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो । 

एनपीएलमा जनकपुर र सुदूरपश्चिम तेस्रोपटक भिड्न लागेका हुन् । यसअघि नै दुईपटक यी टोलीबीच खेल भइसकेको छ । जनकपुर दुईपटक सुदूरपश्चिमसँग पराजित भएको थियो । 

पहिलो क्वालिफायरमा जनकपुर सुदूरसँगै पराजित भएको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर जनकपुर फाइनल पुगेको हो । ​

जनकपुरले सुदूरपश्चिम विरुद्धकै खेलमा एनपिएलकै खराब ब्याटिङको कीर्तिमानमा बनाएको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमविरुद्ध पूरै ओभर पनि क्रिजमा बिताउन सकेन । ८ ओभरअघि नै ५१ रनमा अलआउट भएको थियो । 

आठ टीम सहभागी प्रतियोगितामा कर्णाली याक्स तेस्रो भएको थियो । चितवन राइनोज चौथो भएको थियो । 

प्रतियोगिताको विजेताले एक करोड १० लाख र उपविजेताले ५० लाख रुपैयाँ पाउने छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्