
संसारका हर प्राणी केही खोजिरहेका हुन्छन् । मानिसले खोजेको हुन्छ, पशुपक्षीले खोजेको हुन्छ । कीराकमिलाले खोजेको हुन्छ । रुखबिरुवा वनस्पति पनि खोजीमै हुन्छन् ।
संसारमा चार किसिमका प्राणी हुन्छन्, अण्डज, स्वेदज, उद्भिज र जरायुज । यिनमा अण्डाबाट उत्पन्न हुनेजति अण्डजमा पर्छन् । पसिनाबाट उत्पन्न हुने प्राणी समुदाय स्वेदजमा पर्छन् । जमिनबाट उत्पन्न हुने वनस्पतिहरू उद्भिजमा र सालनालसहित जन्मनेहरू जरायुजमा पर्छन् । यी सबै केही न केही खोजिरहेका हुन्छन् ।
दिनमा खोज्छन्, रातमा खोज्छन् । साँझमा खोज्छन् बिहानमा खोज्छन् । खोज्दाखोज्दै जहाँ पुगेर थाक्छन् त्यहीँ विश्राम गर्छन् । जब थकाइ मर्छ पुनः खोज्न शुरू गर्छन् । हिजो पनि यस्तै थियो, आज पनि यस्तै छ । यस्तै अवस्था रहेमा भोलि पनि हुने भनेको यस्तै हो ।
समय परिवर्तन हुन्छ, काल परिवर्तन हुन्छ, हुन सक्छ युगै परिवर्तन होला तर, खोजी रोकिने छैन । ठोसहरू तरलमा जालान्, तरल ग्यासमा जालान्, ग्यास पुनः ठोसमा जालान् तैपनि खोज्न भने छाड्ने छैनन् ।
प्रश्न उठ्न सक्छ उनीहरूले खोजेको चीज के हो ? हामीलाई यसको उत्तर वेदान्तले दिएको छ । वेदान्तका अनुसार प्राणीहरूले खोजेका चीज अरू केही होइन । मात्र आफैंलाई हो, आफ्नै स्वरूपलाई हो, आफ्नै अंशीलाई हो । जतिबेलादेखि अंशीबाट छुट्टिएर अंशमा गयो त्यतिबेलादेखि दुःखी भयो, छटपटिन थाल्यो र उसैलाई खोज्न थाल्यो । त्यसैले उसको खोजको यात्रा त्यतिबेलासम्म जारी नै रहन्छ जतिबेलासम्म आफ्नै स्वरूप वा आफ्नै अंशी फेला पर्ने छैनन् ।
पुनः प्रश्न गर्न सकिन्छ यदि खोजे त्यही हो र खोज्दै आएको त्यही हो भने किन भेटिएका छैनन् ? यसको पनि उत्तर यही हो कि खोजको तरिका मिलेको छैन । बाटो फरक परेको छ । बाटो बिराइएको छ । एकातिर जानुपर्ने अर्कोतिर गइएको छ । अर्थात् खोजिएको चीज भित्र छ तर, खोज्ने काम बाहिर भइरहेको छ ।
भित्र भएको चीजलाई खोज्न भित्रतिरै लाग्नुपर्ने थियो तर, बाटो बिराइयो र बाहिरको बाटो समाइयो । ढुङ्गामा खोजियो, मुढामा खोजियो, मठमा खोजियो, मन्दिरमा खोजियो, गुरुद्वारा, चर्च, मस्जिदमा खोजियो । पानीमा खोजियो, पाखामा खोजियो, खेतमा खोजियो, गरामा खोजियो, कान्लामा खोजियो, डिलमा खोजियो, छेउमा खोजियो, कुनामा खोजियो, रूपमा खोजियो, रङ्गमा खोजियो, रसमा खोजियो, गन्धमा खोजियो, शब्दमा खोजियो, स्पर्शमा खोजियो । समग्रमा भन्नुपर्दा जहाँ छ त्यहाँ खोजिएन, जहाँ छैन त्यहाँ खोजियो ।
जो–जसले भित्र खोजेका थिए उनीहरूले देखेका पनि थिए, पाएका पनि थिए । देखेका र पाएका मात्र थिएनन् मैले देखेँ पनि, पाएँ पनि तपाईँहरू पनि आउनुस्, हेर्नुस् । देख्न पनि सक्नुहुन्छ, पाउन सक्नुहुन्छ भनेर आह्वान पनि गरे, गर्दै आएका पनि छन तर, हामी भने अझै त्यसलाई सुन्यानुसुन्यै गरी बाहिरतिरै खोजिरहेका छौं ।
त्यसो भए के गर्ने त ? उत्तर हो सकिन्छ भने केही पनि नगर्ने सकिँदैन भने जहाँ छ त्यहीँ खोज्ने । पुनः प्रश्न उठ्न सक्छ कहाँ छ त त्यो ? उत्तर माथि नै आइसक्यो भित्र छ ।
भित्र पनि यति भित्र कि जहाँ सूर्य, चन्द्र र अग्निको समेत गति पुगेको छैन, पुग्न सक्दैन । ‘नतद्भाषयते सूर्यो न शशाङ्को न पावक: । पुनः प्रश्न गर्न सकिन्छ यो त असम्भव कुरा पर्यो । त्यस्तो अँध्यारो स्थानमा कसरी खोज्ने ? यदि त्यसै हो भने केही पनि नगर्ने । जहाँ छ त्यहीँ स्थिर भएर बस्ने र आफैंलाई हेर्ने, आफ्नै स्वरूपलाई हेर्ने, आफ्नै स्वासप्रश्वासलाई हेर्ने, आफ्नै धडकनलाई सुन्ने ।
पुनः प्रश्न गर्न सकिन्छ त्यस्तो कसरी हुन्छ ? हो, गाह्रो अवश्य छ तर, असम्भव छैन । असम्भव भए त कसैले पनि देख्ने थिएनन् । हामी अनादि कालदेखि केही गर्दै आएका छौं । केही गर्ने बानी परेको छ । त्यसैले केही नगरी बस्न सक्दैनौं तर, प्रयास गर्ने हो भने सुधार्नै नसकिने भन्ने हुन्न । जरूरै शुरूमा केही गाह्रो पर्ला तर, अभ्यास गर्दैै गएपछि बानी पर्छ र सहजै त्यस्तो अवस्थामा पुग्न सकिन्छ । हो, शुरूमा बाह्य चीज नै देखिने छन् । हुन सक्छ सानोतिनो सिद्धिको सङ्केत पनि मिल्लान् तर, त्यता अलमलिनुको अर्थ छैन । त्यता अलमलिन थाले त्यतै हराउन पुगिन्छ । हामीले खोजेको त्यस्तो सानोतिनो चीज होइन । त्योभन्दा निकै महत्वपूर्ण चीज हो ।
त्यसैले शुरूमा जेजे आउँछ त्यसलाई मात्र हेर्ने र जस्ताकोतस्तै छाडिदिने । जब आसन स्थिर हुन पुग्छ, जस्तोसुकै उपलब्धि वा सिद्धिले पनि अलमल्याउन सक्ने छैन तब स्वतः आफूले खोजेको चीज भाषित हुन थाल्नेछ । त्यसपछि हाम्रा समग्र खोजीको अध्याय सदाका लागि समाप्त हुन पुग्छ । हामीलाई वेदान्तले दिएको सन्देश यही हो ।