
१ हजार दिन काटिसकेको रुस-युक्रेन युद्धले ६८ लाख युक्रेनी जनतालाई शरणार्थी बनेर युरोपका अन्य देशमा पलायन हुन बाध्य पारेको छ । युक्रेनको स्थिति दिनप्रतिदिन अत्यन्त कठिन बनिरहेको छ ।
६८ लाख शरणार्थीमध्ये याना फेलोस एक त्यस्ती महिला हुन्, जसले युद्धको शुरूआती दिनदेखि अहिलेसम्म आफ्नो जीवन अनिश्चिततामा बाँचिरहेकी छन् ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार युद्ध शुरू भएपछि फेलोस आफ्नी छोरीसँग मात्र एउटा सुटकेस लिएर बेलायतको लन्डन आइपुगेकी थिइन् ।
सुटकेसमा प्रायः बच्चाका कपडा मात्र थिए । युक्रेनबाट शरणार्थी बनेर भागेकी फेलोसका लागि लन्डन बिल्कुलै नयाँ शहर थियो । त्यहाँ उनका साथी, परिवार या परिचित समुदाय थिएन ।
युक्रेनबाट भागेर लन्डन आइपुगेकी फेलोसले युरोपको एउटा 'होस्ट' परिवारसँग शरण लिइन्, जसलाई उनले पहिले कहिल्यै देखेकी र जानेकी थिइनन् ।
युद्धको कष्टपूर्ण अनुभवले फेलोसलाई युक्रेन छाड्न बाध्य पारेको थियो ।
उनी बस्ने युक्रेनको पूर्वी भागमा रुसको आक्रमणले उनीसहित धेरैजसो अन्य परिवारका सदस्य र साथीहरू अलग-अलग ठाउँमा भाग्न बाध्य बनायो ।
उनकी हजुरआमा बेलारुसमा स्थानान्तरण भइसकेकी थिइन्, भने बाबुआमा वर्षौंअघि बितिसकेका थिए ।
युक्रेनमा रहेका उनका धेरै साथीहरू रुसी भूमिमा पनि छिर्न बाध्य भए । तिनीहरूको अवस्थाबारे उनी अहिले अज्ञात छिन् । युक्रेनमा कोही बाँकी नरहेपछि उनले बेलायत भाग्नुको विकल्प देखिनन् ।
शरणार्थीहरूको चुनौती
फेलोसले युक्रेन फर्कन कुनै चाहना राखेकी छैनन् । उनले सीएनएनसँग भनिन्, 'युक्रेनमा मेरो केही पनि छैन । म फर्कन सक्दिनँ ।' उनले युद्ध शुरू भएपछि आफ्नो पतिसँग सम्बन्धविच्छेद गरिसकेकी थिइन् ।
पतिको भनाइ सम्झिँदै उनले भनिन्, 'उनले थोरै पर्ख, युद्ध समाप्त हुनेछ, हामी चाँडै सँगै हुनेछौं भनेका थिए । तर, केही भएन र हामी अलग हुने निर्णय गर्यौं । मलाई अब युक्रेनमा सुरक्षित र शान्तिपूर्ण जीवनको आशा छैन ।'
फेलोसजस्तै युक्रेनी शरणार्थीहरूको ठूलो संख्या अहिले विभिन्न युरोपेली देशमा छरिएर रहेको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।
फेलोस र उनकी छोरी ती शरणार्थीको एउटा अंश मात्र हुन्, जो आफ्नो घरबाट भागेर अनिश्चित भविष्यको सामना गर्दै छन् । बेलायतमा उनीहरूको शरणार्थी भिसाको नवीकरण २०२५ पछि हुने कि नहुने कुरा अझै ग्यारेन्टी छैन ।
'मैले हालै एउटा नयाँ जीवन शुरू गरेकी छु,' फेलोसले भनिन् ।
उनलाई हाल लन्डनमा आफ्नै अपार्टमेन्ट र अंग्रेजी पढाउने जागिर पनि मिलेको छ । उनी अब आफ्नो ६ वर्षीया छोरी एलिसालाई उज्ज्वल भविष्य दिने अवसरमा ध्यान केन्द्रित गर्न चाहन्छिन् ।
युक्रेनी सरकारको कदम
युक्रेनी सरकारले शरणार्थीहरूको स्वदेश फिर्तीका लागि नयाँ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै एक पत्रकार सम्मेलनमा भनेका छन्, 'हामीले शरणार्थीलाई स्वदेश फर्कने आह्वान गर्न सक्छौं, तर हामी उनीहरूलाई दबाब दिन सक्दैनौं । हामीले उनीहरूलाई युक्रेनमा पुनर्निर्माण प्रक्रियामा सहभागी हुन प्रोत्साहित गर्न सक्छौं ।'
अन्तर्राष्ट्रिय समुदायले युक्रेनी सरकारलाई यस चुनौतीमा सहयोग गर्न विभिन्न प्रयास अघि बढाइरहेको छ ।
युक्रेनमा राष्ट्रिय एकता मन्त्रालय पनि स्थापित गरिएको छ, जसको मुख्य उद्देश्य शरणार्थीहरूलाई स्वदेश फर्कन प्रोत्साहन दिनु हो ।
युक्रेनी शरणार्थीको जीवन विदेशमा निकै कष्टकर ढंगबाट बितिरहेको छ । धेरैजसो शरणार्थी उच्च शिक्षा प्राप्त गरेका छन्, तर उनीहरूको पेशागत योग्यता र क्षमतासँग मेल खाने रोजगार प्राप्त गर्न निकै कठिनाइ छ ।
'अहिले धेरै युक्रेनी शरणार्थीहरू कम पारिश्रमिक पाउने काम गर्दैछन्,' स्वयंसेवक मेरिना भोरोनोभिचको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ । कम पारिश्रमिक पाएपछि युक्रेनी शरणार्थीको जीवनस्तर पनि निकै खस्किरहेको छ ।
उच्च शिक्षा प्राप्त नागरिक विदेशमा शरणार्थी भएर बस्नु युक्रेनी समाजका लागि एउटा गम्भीर समस्या हो । यसलाई 'फोर्स्ड ब्रेन ड्रेन' भन्ने गरिएको छ ।
युक्रेनी अर्थशास्त्री एला लिबानोभाले भनेकी छन्, 'युद्ध चलिरहँदा प्रत्येक महिना लाखौं युक्रेनी नागरिक विदेशमा शरण लिन बाध्य भइरहेका छन् ।'
युद्धको असरर घर फर्किने प्रयास
युक्रेनमा युद्धको असर गहिरो हुँदै गइरहेको छ । गत महिना रुसले २ हजारभन्दा बढी ड्रोन आक्रमण गरेको थियो ।
यसले युक्रेनको ऊर्जा पूर्वाधारलाई गम्भीर क्षति पुर्याएको छ । कीभ स्कूल अफ इकोनोमिक्सको अनुमानअनुसार २०२४ अन्त्यसम्म २ लाख ५० हजारभन्दा बढी भवन क्षतिग्रस्त हुनेछन् ।
साथै, युक्रेनी जनसंख्या वितरण, रोजगारी र अन्य आर्थिक सामाजिक पाटोमा पनि लामो समयसम्म गम्भीर असर पर्ने देखिनेछ । 'यो समस्या केवल युक्रेनको मात्र होइन, यसले सम्पूर्ण युरोपलाई असर पुर्याउन सक्छ,' लिबानोभाले भनिन् ।
केही शरणार्थी बिस्तारै आफ्नै देशमा फर्किने प्रयास पनि गरिरहेका छन् ।
किभ फर्केका भिक्टोरिया रिब्काको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ, 'मैले युरोप छाडेर घर फर्कने निर्णय गरें । अहिले म आफ्नै घरमा छु । जतिसुकै कठिन भएपनि मेरो देशमा मात्र मैले शान्ति र सुरक्षा पाउँछु ।'