२६ जेठ २०८३, मंगलबार

पनामा नहरमा अत्याधिक कर लगाइएको ट्रम्पको आरोप, फिर्ता नगरे हस्तक्षेप गर्ने चेतावनी

पुस ८, २०८१
काठमाडौं
पनामा नहरमा अत्याधिक कर लगाइएको ट्रम्पको आरोप, फिर्ता नगरे हस्तक्षेप गर्ने चेतावनी
फाइल तस्वीर

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहरमा लिइने कर नघटाइए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन् ।

उनले पनामामा पानीजहाज र सैन्य जहाजले अत्याधिक शुल्क तिर्नुपर्ने विषय हास्यास्पद रहेको भन्दै यसको आलोचना गरे ।

एक सार्वजनिक कार्यक्रममा ट्रम्पले भने, 'पनामाले लिएको शुल्क हास्यास्पद र अत्यधिक अनुचित छ । मैले अर्को महिनामा पदभार ग्रहण गरेपछि यसलाई तुरुन्तै रोकिदिन्छु ।'

उनले यस्तो टिप्पणी गरेपछि पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले पनामाको सार्वभौमसत्ता र स्वतन्त्रतामा कुनै पनि देशले हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारेका छन् ।

एक वक्तव्यमा उनले भनेका छन्, 'हामीले पानामाको प्रत्येक वर्गमिटरलाई आफ्नो देशको भूमि मान्दछौं ।'

ट्रम्पले टर्निङ प्वाइन्ट युएसका समर्थकलाई सम्बोधन गर्दै पनामामा हस्तक्षेप गर्ने बताएका थिए । उक्त समर्थक समूह ट्रम्पको विचारधारानिकट मानिन्छ ।

ट्रम्पले यसअघि पनामा नहरलाई अमेरिकाको 'महत्वपूर्ण राष्ट्रिय सम्पत्ति' भनेका थिए । यदि पनामाले ढुवानी दर नघटाएमा त्यसलाई छिटो अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने ट्रम्पको भनाइ थियो ।

पानामा नहरको लम्बाइ ८२ किलोमिटर छ र यो एटालान्टिक र प्रशान्त महासागर बीचको प्रमुख मार्ग हो । यसलाई सन् १९०० को दशकमा बनाइएको थियो । सन् १९७७ सम्म यसको नियन्त्रण अमेरिकासँग थियो ।

यस नहरबाट प्रतिवर्ष १४ हजार पानी जहाज यात्रा गर्छन् ।

ट्रम्पले मेक्सिको र क्यानडाबीचको व्यापारिक अभ्यासलाई पनि आलोचना गर्दै आएका छन् । उनले मेक्सिकोलाई लागूऔषध र आप्रवासीहरूको समस्या उत्पन्न गर्ने गरेको आरोप लगाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्