
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसँग सीमा जोडिएका जिल्लालाई प्राथमिकतामा राखेर प्रहरीले विशेष सुरक्षा योजनाअन्तर्गत निगरानी बढाउनुपर्ने बताएका छन् ।
सीमा क्षेत्रबाट भैरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीका उच्च अधिकारी समक्ष आग्रह गरे । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीसँगको भेटमा मुख्यमन्त्री आचार्यले सीमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिए ।‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रशस्त माल सामानहरू भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरूरी छ,’मुख्यमन्त्री आचार्यले भने,‘मूल नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरूको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैध कारोबारलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ ।’
लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछि प्रहरी नायब महानिरीक्षक कार्कीले मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गरेका छन् ।‘भारतबाट दूधसमेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध बिक्री भइरहेको छैन् । कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ,’मुख्यमन्त्री आचार्यले भने, ‘यी विषयलाई विशेष ध्यान दिन जरुरी छ ।’
भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले सीमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजश्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिए ।
उनले सीमा क्षेत्रमा निगरानी बढाएको र राजश्व छलेर भित्रिएका सामाग्री जफत गरिएको सुनाए । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्याउने कार्यलाई रोक लगाइएको जानकारी दिए ।
‘भारतीय गोरु तर, नेपाली बाटो भएर पुनः भारत लैजाने गिरोह सक्रिय छ । यसलाई नियन्त्रण गर्न पूर्णरूपमा खटिएका छौं,’ उनले भने, ‘यी र यस्ता अवैध कारोबार हुन दिँदैनौं ।’ हालै सम्पन्न प्रदेश सुरक्षा गोष्ठीबाट पनि सीमा क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रण गर्न प्रहरी कार्यालयलाई विशेष निर्देशन दिइएको थियो ।