
मछिन्द्र फुटबल क्लब- काठमाडौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यू स्टार क्लब सुनसरीको पोस्टमा गोलको वर्षा गर्दै मछिन्द्र फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।
फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा न्यू स्टारलाई ६–२ गोलअन्तरले पराजित गर्यो ।
कमजोर प्रदर्शन गरेको न्यू स्टार प्रतियोगिताबाट बाहिरिएको छ ।
मछिन्द्रका लागि बिजु भुजेलले खेलको पाँचौं र १५औं मिनेटमा गोल गरेका थिए ।
यस्तै आदित्य शाक्यले ४३औं, मनीष डाँगीले ५६औं, सञ्जय श्रेष्ठले ६२औं र सौरभ सुब्बाले ८५औं मिनेटमा गोल गरे ।
न्यू स्टारका लागि सुशील राईले १३औं र सन्दीप श्रेष्ठले ६७औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताअन्तर्गत बुधबार तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौं र विराटनगर सीटी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले जानकारी दिए ।
यसअघि क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लब सेमिफाइनलमा पुगिसकेको छ ।
यही पुस १५ गते सम्पन्न हुने प्रतियोगिताका विजेताले रू १० लाख तथा उपविजेताले रू पाँच लाख पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर प्राप्त गर्ने छन् ।
विधागत रूपमा उत्कृष्ट खेलाडीहरू, प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले समेत पुरस्कार प्राप्त गर्ने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।