१० असार २०८३, बुधबार

हुम्लामा हिमपात हुँदा छोटो दूरीको हवाई सेवा अवरूद्ध

पुस १०, २०८१
हुम्ला
हुम्लामा हिमपात हुँदा छोटो दूरीको हवाई सेवा अवरूद्ध

हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो । 

हिजो बिहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरूद्ध हुन पुगेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताए । 

नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए । मङ्गलबार जिल्लाको मौसम खराब हुँदा जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ । 
   
यस्तै सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारीसाधनसमेत अवरूद्ध भएका छन् । हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सालगायत गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारीसाधनसमेत आवतजावतमा रोकिएका छन् । यस्तै जिल्लाका दक्षिण भेगमासमेत सवारीसाधनले आवतजावत गर्न नसकेको बताइएको छ । 

जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ । हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ । चिसोले यहाँका नागरिकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ । 

नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ । उत्तरी भेगको तापक्रम माइनस १० डिग्री पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने हावाहुरीका साथै वर्षा भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्