
नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनाले आफूलाई पार्टीले ‘कारबाही’ गरेको विषयमा प्रतिक्रिया दिएकी छन् ।
बुधबार बसेको एमाले सचिवालय बैठकले उषाकिरण र स्थायी समिति सदस्य विन्दा पाण्डेलाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा तिमल्सेनाले प्रतिक्रिया दिएकी हुन् ।
उनले पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले उसकै नक्कल गरेको टिप्पणी गरेकी छन् । आफू बुधबार दिनभर पनि पार्टीकै काममा खटिएको समेत तिमल्सेनाले बताएकी छन् ।
‘आजै पनि आफ्नो जिम्मेवारी भएको नुवाकोट निर्वाचन क्षेत्र नं.१ अन्तर्गत शिवपुरी गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रम थियो । उक्त कार्यक्रम सकेर भर्खर घर आइपुगेको छु’, तिमल्सेनाले लेखेकी छन्, ‘तल्लो तहका आम कार्यकर्ता , तिनको लगाव , मेहनत र चासोको अगाध माया लाग्छ । यता ६ महिना निलम्बनको निर्णय भएछ । पञ्चायतविरुद्ध लडेर आउनु भएको नेतृत्वगणले पञ्चकै नक्कल नगर्नु भएको भए हुन्थ्यो ।’
बुधबारकै एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशित गरेको छ । रावल एमालेमा लामो समयदेखि भूमिकाविहीन बनाइएका थिए । उनले खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीका निर्णयको आलोचन गर्ने गरेका थिए । एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएका रावल पराजित भएका थिए ।
यता, पाण्डे र तिमल्सेनाले भने एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दानमा लिएर भवन बनाउने निर्णयको विरोध गरेका थिए । पार्टी कार्यकर्ताहरू आफैं भवन बनाउनका लागि योगदान गर्न तयार रहेको अवस्थामा व्यवसायीबाट दानमा जग्गा लिन नहुने उनीहरूको धारणा थियो ।
तर, पार्टी निर्णयका विरुद्ध बोलेको भन्दै एमालेले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो । उनीहरूले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले ६ महिनाका लागि जिम्मेवारीमुक्त गरिएको उपमहासचिव प्रदीप ज्ञवालीलले बताए ।