१७ असार २०८३, बुधबार

विषयगत समिति सभापतिको नेतृत्वमा दलहरूबीच सहमति

पुस १२, २०८१
कैलाली
विषयगत समिति सभापतिको नेतृत्वमा दलहरूबीच सहमति

लामो समयदेखि नेतृत्वविहीन रहेको सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति सभापतिको नेतृत्वका बारेमा दलहरूबीच सहमति जुटेको छ ।
 
 सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी( एमाले)को संसदीय दलका नेताको बैठकले विषयगत समिति सभापतिको नेतृत्वबारे टुङ्गो लगाएको हो । 

प्रदेशसभा सदस्य देवानसिंह विष्टले कांग्रेसले नयाँ गठन गर्न लागिएको विषेश समितिको सभापति, नेकपा एमालेले सामाजिक विकास समिति, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले लेखा समिति र नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत समिति सभापतिको नेतृत्व गर्ने सहमति भएको जानकारी दिए । 
 
 प्रदेशसभामा अहिलेसम्म चारवटा विषयगत समिति  रहेकामा ‘विषेश समिति’ गठन गर्ने सहमति दलहरूबीच भएको छ । सदन चलेपछि समितिका सभापति चयनको प्रक्रिया अघि बढ्ने विष्टले बताए । विषयगत समिति नेतृत्वविहीन हुँदा संसद्मा ‘मिनी’ संसद्का रूपमा लिइने समितिका कामकारबाही प्रभावित भएका छन् ।
 
सभापतिको चयन नहुँदा विकास निर्माणलगायतका कामको अनुगमन गर्ने, महालेखाको वार्षिक प्रतिवेदनमाथिको छलफलका साथै विधेयकमाथि छलफल गर्नेजस्ता काम प्रभावित हुँदै आएका छन् । 

सभामुख भीमबहादुर भण्डारीले विषयगत समितिको रिक्त रहेका सभापतिको निर्वाचन गराउन गएको असोजमा नै ‘रूलिङ’ गरेका थिए ।  विधायन तथा प्रदेश मामिला समितिका सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन हुँदा समिति ज्येष्ठ सदस्यको भरमा चलिरहेको छ । 

एक वर्षअघि अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का माया पन्त, सार्वजनिक लेखा समितिमा एमालेका वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिमा कांग्रेसका देवानसिंह विष्ट निर्वाचित भएका थिए । 
सत्ता समीकरण फेरबदल भएसँगै विधायन तथा प्रदेश मामिला समिति सभापतिबाहेकका अन्य समिति नेतृत्वविहीन भएका थिए । पर्याप्त ‘बिजनेस’ नहुँदा प्रदेशसभाको पाँचौँ अधिवेशनअन्तर्गतका नियमित बैठकसमेत बस्न सकेको छैन । दुई वर्षअघि भएको निर्वाचनमार्फत गठन भएको प्रदेशसभामार्फत यो अवधिमा चार सरकार गठन भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्