
नेकपा एमालेका नेताद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्णराज विष्टले अहिले मुलुकमा भ्रामक र पूर्वाग्रही हल्ला गरेर समाजमा विग्रह ल्याउने दुष्प्रयास भइरहेको बताएका छन् ।
पार्टीको गुल्मी–रुपन्देही सम्पर्क मञ्चको कार्यक्रममा शनिबार बुटवलमा सहभागी भएका नेताद्वयले भ्रामक हल्ला र गालीगलौज गरेर नकारात्मकता फैलाउनेहरूको प्रतिवाद गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।
पार्टीका उपमहासचिव ज्ञवालीले मुलुकको आर्थिक समृद्धिलाई गति दिने मात्र होइन, ग्रामीण जीवनस्तर सुधार्न र आत्मनिर्भरताको आधार तयार गर्न सरकार केन्द्रित रहेको उल्लेख गरे । युवाशक्ति र प्राकृतिक स्रोतहरूको सही व्यवस्थापन गरी स्थायी विकासका दिशा खोल्न सरकारले विशेष रणनीति बनाइरहेको उनको भनाइ छ ।
‘सकारात्मक र तथ्यपरक विषय उजागर गर्दा नै सामाजिक मनोविज्ञानमा सकारात्मक भाव सिर्जना हुन्छ’ ज्ञवालीले भने, ‘हरेक व्यक्तिका मनमा सकारात्मक ऊर्जा बढाउने वातावरण निर्माण गर्न अगुवा नेता कार्यकर्ताहरू जुट्नुस् ।’
अहिलेको केपी ओली नेतृत्वको सरकारले युवाहरूलाई कृषि क्षेत्रमा व्यवसाय शुरू गर्नका लागि सहुलियतपूर्ण ऋण, अनुदान, बीमा र भन्सार छुटलगायतका प्रावधान अगाडि बढाएको बताउँदै नेता ज्ञवालीले गाउँमा भएको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न अगुवा नेता कार्यकर्ताहरूले पनि सहजीकरण गरिदिनुपर्ने आवश्यकता औंल्याए ।
पहाडमा भएका उत्पादन जैविक हुने भएकाले विश्व बजारमा माग अधिक रहेको उदाहरण प्रस्तुत गर्दै नेता ज्ञवालीले युवाले सोंच र संकल्प लिएर कुनै न कुनै कृषि उद्यममा सरिक हुने हो भने सम्भावना अथाह रहेको उल्लेख गरे ।
कृषि वा उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने कार्यक्रम बनाइरहेको अर्का नेता विष्टले बताए । कृषि कर्म र युवाहरूको विदेश पलायन रोक्ने दीर्घकालीन नीति निर्माण र कार्यान्वयन गर्नु नै अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै पूर्वमन्त्री विष्टले हालसम्मको अनुभव, समस्या र उल्झनबाट पाठ सिकेर मुलुकको समृद्धिमा सरकार केन्द्रित रहेको बताए ।
पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई पनि सुन्दर बनाउने, सबैखाले विचारलाई सम्मान गर्ने, नयाँ र उत्साह जगाउने विचारलाई प्राथमिकता दिने बताउँदै नेता विष्टले प्रतिरक्षा र प्रतिवाद दुवै काम एकैसाथ गर्नुपर्ने अवस्था सिर्जना भइरहेको बताए ।
कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकीकरणका साथसाथै स्थानीय आवश्यकता र विशेषतालाई मध्यनजर गर्दै सरकारले कार्यान्वयन हुने योजना बनाउने र त्यसमा हरेक नागरिकले अपनत्व गर्न सक्ने वातावरणको पनि विकास हुनुपर्ने विष्टले बताए ।