
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५ लाई पर्यटन दशकको रूपमा मनाउने उद्घोष गरेका छन् ।
नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पाण्डेले यो १० वर्षलाई पर्यटन दशकका रूपमा मनाउने बताएका हुन् ।
‘सन् १९९८ मा पहिलो पटक नेपाल पर्यटन वर्षको रूपमा मनाएका थियौं । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाउने घोषणा गरेको भए पनि कार्यविधि अभावका कारण त्यो पूरा हुन सकेन । सरकारले अब सन् २०२५ देखि ०३५ लाई पर्यटक दशकको रूपमा मनाउने छ’, मन्त्री पाण्डेले भने ।
मन्त्री पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको दाबी गरे । उनले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने जानकारी दिए ।
उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी)को अवधारणालाई आत्मसात गर्दै अन्तर्राष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।
‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश हो । यही विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास र विस्तार गर्नु आजको आवश्यकता हो’, मन्त्री पाण्डेले भने, ‘नेपालको आफ्नै मौलिक पर्यटन प्रडक्ट छ । यसलाई अन्तर्राष्ट्रि बजारमा व्यापक प्रर्वद्धन गर्न आवश्यक छ ।’