
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घनारायण अर्याल, प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङ र उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेलसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्थानीय बजार क्षेत्रको बाटोमा गुणस्तरहीन ढलान गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा उक्त कार्यमा उनीहरूको संलग्नता देखिएपछि मुद्दा दायर गरिएको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।
आयोगले तत्कालीन अध्यक्ष अर्याल र तत्कालीन इन्जिनियर नवीन थापाविरुद्ध ३५ लाख ३९ हजार ३३१ रुपैयाँ ६५ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुरुङ, तत्कालीन सवइन्जिनियर सूर्यप्रसाद पौडेल र सदरमुकाम व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष बालकृष्ण पौडेल, सचिव कृष्णप्रसाद काफ्ले र कोषाध्यक्ष हिमकुमारी केसीविरुद्ध जनही २७ लाख ५ हजार ११ रुपैयाँ ७ पैसा बिगो आयोगले दाबी गरेको छ ।
यस्तै, आयोगले प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम, तत्कालीन इन्जिनियर सुदीप आचार्य, तल्लो बजार नाली तथा ढलान सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मङ्गलदेवी थापा मगर, सचिव विष्णुकुमारी विक र कोषाध्यक्ष एकनारायण देवकोटाविरुद्ध जनही ८ लाख ३४ हजार ३२० रुपैयाँ ५८ पैसा बिगो मागदाबी गरेको छ ।
आयोगले उनीहरूविरुद्ध कैद र बिगो बमोजिम जरिवानाका साथै बिगोसमेत असुलउपरको मागदाबी गरेको छ ।