
नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टीको महाधिवेशन तोकिएको समयमा या आमनिर्वाचनपछि गर्नु उपयुक्त हुने बताएका छन् ।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका हुन् ।
‘२०८४ मा आमनिर्वाचन हुनेछ । त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो । होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ’, कोइरालाले भने ।
निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने भन्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आमनिर्वाचनमा पर्ने बताए ।
‘कोइराला परिवार एक होइन विचार एक हुनु पर्यो । विचार एक भए हुन्छ’, कोइरालाले थपे ।
महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थाहरूलाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए ।