खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि बर्खामा पनि काठमाडौंमा मेलम्चीको पानीको आपूर्ति बन्द नहुने बताएका छन् ।
बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा मन्त्री यादवले विगतका बर्खामा काठमाडौंमा पानी आपूर्ति बन्द हुने भए पनि अब भने बाह्रै महिना आउनेगरी काम भइरहेको जानकारी दिए ।
‘विगतमा बर्खा शुरू हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुन्थ्यो, अब भने बर्खामा पनि ल्याउने गरी काम गरिरहेका छौं’, मन्त्री यादवले भने ।
मन्त्री यादवले अहिले पनि विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नु पर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए ।
‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका विकट गाउँ बस्तीमा पुगेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँसराइँ गर्नुपर्ने अवस्थामा छन् । ती क्षेत्रहरूका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु’, मन्त्री यादवले भने ।
मन्त्री यादवले मेलच्नी नजिकैको अर्को खोलाको पानी पनि काठमाडौं ल्याउने विषयमा अध्ययन भइरहेको बताए । मेलम्चीको पानी कुनै कारणबस ल्याउन नमिल्ने अवस्थाको विकल्पमा मकवानपुरको सिस्नेरी खोलाबाट काठमाडौं पानी ल्याउने गरी काम भइरहेको उनको भनाइ छ ।
देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पुर्याउन योजनावद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवको दाबी छ ।