१५ असार २०८३, सोमबार

साना दलले अस्थिरता ल्याएपछि कांग्रेस–एमाले मिल्यौं : सिंह

पुस १९, २०८१
काठमाडौं
साना दलले अस्थिरता ल्याएपछि कांग्रेस–एमाले मिल्यौं : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आवश्यकताको सिद्धान्त अनुसार कांग्रेस र एमालेको सरकार बनेको बताएका छन् । 

शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सप्तरीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सिंहले दुई ठूला दलको सरकारलाई अनुचित मान्न नहुने प्रस्ट्याए । 

‘अहिले संसदको दुई ठूला दल मिलेर सरकार बन्दा कहीँ नभएको भयो भनेको सुन्छु । आवश्यकताको सिद्धान्तअनुसार दुई ठूला दल मिलेर सरकार बनेको हो,’ उनले भने, ‘साना पार्टीले सरकार बनाउँदा अस्थिरता भयो । केही महिनामै सरकार परिवर्तन हुँदा जनतामा निराशा थियो । बलियो सरकार बनोस् भन्ने जनचाहनाअनुसार नै वर्तमान सरकार बनेको हो ।’

उनले आवश्यकताको सिद्धान्तअनुसार विगतमा बहालवाला प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएको चर्चा गर्दै जनचाहनाअनुसार दुई ठूला पार्टी मिल्नु असामान्य नभएको प्रस्ट्याए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था बलियो बनाउन नेपाली कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए ।  

ठूलो संघर्ष र बलिदानबाट अहिलेको लोकतान्त्रिक व्यवस्था प्राप्त भएको भन्दै यसलाई बलियो बनाउन कांग्रेस बलियो हुनुपर्नेमा उनले जोड दिए । 

सिंहले  पार्टी संगठन महत्त्वपूर्ण हुने भन्दै कांग्रेसको संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

उनले कांग्रेसकै नेतृत्वमा भएको आन्दोलनले रैतीका रूपमा रहेका जनतालाई नागरिक बनाएको स्मरण गर्दै संविधानसभाबाट कांग्रेस नेतृत्वमै संविधान बनेको बताए । 

राजनीति स्थायित्व विना आर्थिक समृद्धि नहुने भन्दै उपप्रधानमन्त्री सिंहले अहिलेको सरकारले राजनीतिक स्थिरताको जगमा आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्