
काठमाडौं, ३० कात्तिक — इस्लामिक स्टेट (आईएस) भागेको र शान्ति छाएको भएपनि सिरियाको रक्का अहिले पनि खतरनाक ठाउँ हो ।
लडाईं त एक महिनाअघि नै सकिएको हो । तैपनि सबैतिर युद्धका निशान बाँकी छन् । शहरका धेरैजसो ठाउँमा जान मनाही छ ।
बीबीसीको टोली चाहिँ तैपनि निषेधित ठाउँमा पुग्यो । अवशेषहरूको थुप्रोका बीच कुन बाटोबाट आईएसका लडाकू भागे भनी टोलीले पत्ता लगाउने कोशिश ग–यो ।
सिटी हस्पिटलमा उनीहरू अन्तिमपटक देखिएका थिए ।
आईएसको जत्था रक्काको सिटी हस्पिटलमा महिनौं बसेपछि त्यहाँबाट हिँड्यो । उनीहरूसँग परिवार र बन्धक पनि थिए ।
तर ती लडाकूहरूको अनुहारमा हारको भाव थिएन । उनीहरूमा दम्भ देखिन्थ्यो । त्यहाँ के सम्झौता भयो भन्ने विषयमा कोही पनि कुरा गर्न चाहँदैन ।
यो नै रक्काको घिनलाग्दो रहस्य हो । कुर्द, अरब र पश्चिमी देशका सैनिकहरूले आईएसलाई यहाँबाट भाग्ने मौका दिएका हुन् त ?
आईएसका लडाकूलाई यहाँभन्दा धेरै पर फेरि जम्मा हुने मौका दिइएको हो ?
आईएसका लडाकूहरू शहरबाट चुपचाप सुरक्षित ठाउँतर्फ गए ।
बीबीसीको खोज रक्काबाट शुरु भयो र उत्तरी सिरियाभन्दा अघि बढ्यो । आईएसलाई रक्काबाट भगाउने सम्झौताका बारेमा केही पनि देखाउन मनाही छ ।
तर बीबीसीले केही भिडियो फूटेज पायो जसबाट आईएस कसरी भाग्यो भन्ने पत्ता लाग्यो ।
बाहिरी संसारलाई त केही स्थानीय लडाकूहरूलाई मात्र रक्काबाट बाहिर जान दिइएको बताइयो । हतियारधारी विदेशी लडाकूलाई जान नदिइएको भनियो ।
तर ट्रकहरूमा आईएस लडाकू भरिएका देखिए । केहीले त आत्मघाती बेल्ट समेत लगाएका थिए । सबैसँग खतरनाक हतियार थियो ।
बीबीसी पुगेको ठाउँको बाहिरी भागमा आईएस लडाकूहरूलाई लग्नका लागि ट्रक केही क्षण रोकिएका थिए ।
बीबीसीले आईएस लडाकूलाई सुरक्षित अन्तै लैजाने चालकहरूलाई भेट्यो । उनीहरूलाई यो काम कुर्दिश नेतृत्वको सिरियाली सेनाले दिएको थियो ।
उनीहरूको जिन्दगीको यो सबभन्दा कठिन यात्रा थियो । ट्रकमा आईएसले बम लगाएको थियो । सम्झौता असफल भएमा ट्रक उडाउने उनीहरूको उद्देश्य थियो ।
बिचरा ड्राइभरहरूले तीन दिन तीन रात लगातार ट्रक चलाउनुप–यो ।
गठबन्धन सेनाको एक विमान ट्रकहरूको ठीक माथिबाट उडिरहेको थियो तर उसले केही गरेन ।
जाँदाजाँदै आईएस लडाकूहरूले धोका दिनेको टाउको काट्ने धम्की दिए ।
बीबीसीले गरेको प्रश्नमा गठबन्धन सेनाले हजारौं मानिसलाई रक्काबाट भाग्न दिएको बतायो ।
तर विदेशी सेना लडाकूको पलायनका कुरालाई सेनाले अस्वीकार गरेको छ । भागेका धेरै मानिस टर्की पुगेका छन् ।
रक्कामा शान्ति फर्केको भएपनि आईएसका खतरनाक लडाकूहरू त्यहाँबाट भागेर युरोप पुगेका छन् ।
आईएस हारेको खबर संसारभरि फैलिएको छ । तर एक तस्कर तथा एक आईएस लडाकूको चेतावनीमा ध्यान दिने हो भने आईएस जुनसुकै बेलामा फर्किन सक्छ ।
तस्करी धन्धा गर्ने व्यक्तिले भने, ‘रक्का र डेर अल जोरमा आईएस हारेपछि सीमा कटाएर टर्की जान खोज्नेको संख्या बढेको छ । तिनमा कैयौं आईएस लडाकू र उनीहरूका परिवारका सदस्य छन् । तिनमा सिरियाली र विदेशी पनि
छन् ।
आईएसका एक लडाकू भन्छन्, ‘हाम्रो समूहमा धेरै मानिस फ्रान्सबाट पनि आएका छन् । उनीहरू फ्रान्समा आक्रमण गर्ने उद्देश्यले त्यतातर्फ लागेका छन् ।’
रक्कामा लडाईं सकिएपनि आईएसको खतरा कायम छ ।
बीबीसीबाट