२४ जेठ २०८३, आइतबार

कफीखेतीमा आकर्षित हुँदै मदानेका कृषक

पुस २०, २०८१
गुल्मी
कफीखेतीमा आकर्षित हुँदै मदानेका कृषक

पछिल्लो समय गुल्मीका कृषक परम्परागत कृषि पेसा छोडेर कफीखेतीमा आकर्षित हुन थालेका छन् । मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यतिबेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पदान गर्न थालेका हुन् ।  

तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई व्यावसायिक रूपमा कफीखेतीप्रति आकर्षित गराउन तालिकसहित कफीको उत्पादन र यसको महत्वबारे जानकारी दिनाका साथै कफीखेती गर्न चाहनेलाई अनुदान उपलब्ध गराएपछि कृषकले परम्परागत खेती छोडेर यसतर्फ आकर्षित भएका सिर्सेनीका कृषक मेघलाल अर्यालले बताए । 

मकै र कोदोजस्ता परम्परागत खेती गर्दै आएका कृषकलाई कफीखेती तुलनात्मक रूपमा सहज भएको उनको भनाइ छ । यहाँका किसानले ‘तीनधारे कफी उत्पादन कृषक समूह’ मार्फत खेती सुरु गरेका अर्यालले बताए । उनका अनुसार चार वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्येक परिवारले व्यावसायिक रूपमा उत्पादन शुरू गरेका हुन् ।  

यहाँका कृषकको बगैँचामा ५० देखि दुई हजारसम्म कफीका बोटहरू रहेका अर्यालले जानकारी दिए । चार वर्षअघि रोपेका बोटहरूले फल दिन शुरू गरेपछि कृषक पनि उत्साहित बनेका छन् । सिर्सेनीमा सबैभन्दा बढी कफीखेती गर्ने कृषकका रूपमा अर्याल चिनिन्छन् । 

दश रोपनी जग्गामा यतिबेला दुई हजार बढी बोट रहेका कृषक अर्यालले जानकारी दिए । ‘चाँडै हुर्किएका बोटहरूबाट कफी पाक्न थालेको छ । विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले कफीले ढपक्क ढाकेको छ’, उनले भने । 

उनीजस्तै व्यावसायिक कफीखेती शुरू गरेका शशीधर अर्यालले शुरूमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले खेतीले आशा जगाएको बताए । 

जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजाली उपलब्ध गराइएको जानकारी दिइन् । परियोजनाले खेती शुरू गर्नुपूर्व गाउँमा ‘कफी पाठशाला’ सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिएको उनले बताइन् । 

परियोजना प्रमुख पोख्रेलले जिल्लामा कफीखेतीमा कृषकहरूको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी, डढुवालगायत सङ्क्रमणले बोटमा क्षति पुर्‍याउने गरेको उल्लेख गरिन् । 

समयमा ती सङ्क्रमणका कारण लाग्ने रोगको पहिचान गरी समाधान गर्न सकेमा जिल्लामा व्यावसायिक रूपमा कफीखेती गर्ने कृषकको सङ्ख्यामा थप हुँदै जाने जिल्ला समन्वय समितिका प्रमुख दोर्णबहादुर खत्रीले बताए । कफी उत्पतिको जननी मानिने गुल्मीमा अहिले दुई सय ४१ हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती गरिँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।     

जिल्लामा उत्पादन हुने कफी जापान, कोरियालगायत मुलुकमा निर्यात हुने गर्दछ । पछिल्लो समयमा ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले कृषकलाई व्यावसायिक कफीखेतीका लागि अनुदानका साथै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्