०७ असार २०८३, आइतबार

प्रचण्डको चुनावी क्षेत्रमा विप्लवबाट सुरक्षा चुनौती

कात्तिक ३०, २०७४
प्रचण्डको चुनावी क्षेत्रमा विप्लवबाट सुरक्षा चुनौती

चितवन, ३० कात्तिक– चितवन जिल्ला सुरक्षा समितिले चुनावी सुरक्षा चुनौतीको रुपमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई पहिलो नम्बरमा राखेको छ । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डको चुनावी क्षेत्रका कारण चर्चामा रहेको चितवन सुरक्षाका दृष्टिकोणले समेत संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयको ठहर छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन व्यवस्थापन एवम् आचारसंहितासम्बन्धी प्रतिनिधिसभा सदस्य उम्मेदवारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवनको चुनावको चुनौतीहरुमा ‘विप्लव समूह’  रहेको बताए ।

उम्मेदवारका कार्यकर्ताहरुबीच चुनावी सभाहरुमा हुने आरोप–प्रत्यारोप, आचारसंहिता उल्लंघनका विषयलाई लिएर हुने झैझगडा र र्याली र जुलुसहरुमा हुने जम्काभेटमा झडप हुने स्थिति पनि चुनावको चुनौती रहेको प्रजिअ भट्टले बताए । मतदान केन्द्र र स्थलहरुमा हुने सामान्य व्यवस्थापकीय कमजोरी र उम्मेदवारहरुको अवलोकनलाई लिएर मतदानस्थल र केन्द्रहरुमा हुने झगडाहरु पनि चुनावको चुनौती देखिएको उनको भनाइ छ । 

नेपाल प्रहरीको मोबाइल टोली, रिजर्भ र सिभिल टोली, सशस्त्र प्रहरीको मोबाइल र स्ट्राइकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको इन्टिलिजेन्स समूह पनि परिचालन गरिएको प्रजिअ भट्टले जानकारी दिए । उनले तीन तहको सुरक्षा व्यवस्था रहने बताए । ‘पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले निर्वाचनको सुरक्षा गर्नेछ,’ उनले भने । 

जिल्लामा नेपाल प्रहरीका मात्रै तीन हजार २९६ जना परिचालन हुनेछन् । म्यादी प्रहरी एक हजार ७१० छन् । जिल्लाका १६१ स्थलका ४०८ मतदान केन्द्र छन् । भित्री सुरक्षा नेपाल प्रहरी, बाहिरी सुरक्षा नेपाली सेनाको हुनेछ ।

५२ मतदानस्थललाई अतिसंवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचीमा राखिएकाले उच्च सतर्कता अपनाइने प्रजिअ भट्टले बताए । 

कमेन्ट गर्नुहोस्