०९ असार २०८३, मंगलबार

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

पुस २१, २०८१
काठमाडौं
प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौं बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, पोखरा र सुर्खेतबाहेक अन्य विमानस्थलमा उडान हुनसकेको छैन ।

काठमाडौं विमानस्थलमा भने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रूपमा सञ्चालन भइरहेको छ । आन्तरिकतर्फ काठमाडौंबाट सिधा उडान हुने कतिपय विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ ।     
     
बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णले हाल भद्रपुर, भरतपुर, पोखरा र सुर्खेत उडान खुले पनि अन्य विमानस्थल कम भिजिबिलिटीका कारण उडान हुनसकेको छैन । तराई क्षेत्रका बाक्लो हुस्सुका कारण विमानस्थल ढिलोगरी खुल्ने गरेको उनले बताए । 

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । 

‘तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ’, मौसमविद् महर्जनले भनिन्, ‘बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।’ 
     
उनले पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मंगलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्