
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता समीकरण अग्रगमनको विकल्प भएको दाबी गरेका छन् ।
संसद्को पहिलो र दोस्रो दल मिल्नुलाई विपक्षी दलले प्रतिगमनको आरोप लगाएका थिए ।
आइतबारदेखि काठमाडौंमा शुरू केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ओलीले विद्यमान संसदीय संरचनामा यो अग्रगामी विकल्प रहेको बताएका हुन् ।
‘नेकपा एमाले र कांग्रेसबीचको यस सहमति र संसद्मा प्रतिनिधित्व गर्ने दलहरू जसपा नेपाल, जनमत, लोसपा र नागरिक उन्मुक्तिलगायतको वर्तमान शक्ति समीकरणलाई राष्ट्रिय आवश्यकता र विद्यमान अवस्थाभित्रको सबैभन्दा महत्त्वपूर्ण समीकरणको रूपमा बुझ्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘एक किसिमले भन्ने हो भने विद्यमान संसदीय संरचना र राजनीतिक शक्ति सन्तुलनबीच यो मुलुकको अग्रगमनका लागि एक मात्र सम्भव विकल्प बनेको छ ।’
ओलीले प्रतिवेदनमा कांग्रेससँग असार १७ गते भएको ७ बुँदे सहमतिलाई अनुसूचीमा समावेश गरेका छन् । ओलीले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेससँग मिल्नु परेको समेत जिकिर गरेका छन् ।