०५ साउन २०८३, मंगलबार

सहकारी ठगी प्रकरण : रवि लामिछानेका कानून व्यवसायीको बहस जारी, कहिले आउँछ आदेश ?

पुस २२, २०८१
काठमाडौं
सहकारी ठगी प्रकरण : रवि लामिछानेका कानून व्यवसायीको बहस जारी, कहिले आउँछ आदेश ?

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस कास्की जिल्ला अदालतमा गत मङ्गलबारदेखि जारी छ ।

शुक्रबारदेखि प्रतिवादीतर्फका कानून व्यवसायीको बहस शुरू भएकोमा आज सभापति लामिछाने पक्षका कानून व्यवसायीहरूको बहस शुरू भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनका अनुसार आज अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेका पक्षबाट बहस गरेका छन् । यसअघि प्रतिवादी लीला पछाई र छविलाल जोशी पक्षका कानूनी व्यवसायीहरूले बहस गरेका थिए । 

सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले उक्त मुद्दामा बहस गरेपछि प्रतिवादीतर्फका कानून व्यवसायीको बहस चलिरहेको हो ।

प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा गत मङ्गलबारदेखि थुनछेक बहस शुरू भएको थियो ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीतर्फका कानून व्यवसायीहरूको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस शुरू हुने जानकारी दिइन् ।​

थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

सभापति लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा मुछिएका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ ।

सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्