१५ असार २०८३, सोमबार

ट्रम्पलाई मृत्युदण्ड दिए हुन्छ : उत्तर कोरिया

कात्तिक ३०, २०७४
ट्रम्पलाई मृत्युदण्ड दिए हुन्छ : उत्तर कोरिया

काठमाडौं, ३० कात्तिक — उत्तर कोरिया र अमेरिकाका नेताहरूको शाब्दिक लडाईं अझै जारी छ । यसैबीच उत्तर कोरियाले आफ्ना नेता किम जोङ–उनलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अपमान गरेकोमा मृत्युदण्ड दिनुपर्ने बयान दिएको छ ।

सरकारनिकट पत्रिका रोदोङ शिन्मुनको सम्पादकीयमा ट्रम्पले कोरियाली सीमानजिकको भ्रमण रद्द गरेकोमा उनलाई ‘कायर’ संज्ञा दिएको छ । ट्रम्पले दक्षिण कोरियाको भ्रमण गरेकोमा उत्तर रिसाएको छ । 

ट्रम्प एसियाली मुलुकहरूको भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका बेलामा उत्तर कोरियाको क्रूर तानाशाहीका बारेमा बोलेका थिए । 

सम्पादकीयमा लेखिएको छ, ‘माफी दिन नसकिने सबभन्दा ठूलो अपराध ट्रम्पले गरेका छन् । हाम्रा सर्वोच्च नेतालाई उनले अपमान गरेको अपराधमा कोरियालीहरूले उनलाई मृत्युदण्ड दिनेछन् ।’

राष्ट्रपतिका हैसियतमा ट्रम्पले उत्तर कोरियामाथि लगातार शाब्दिक आक्रमण गरिरहेका छन् । एसिया भ्रमणको अन्तिम दिन ट्रम्पले भियतनामको हनोईबाट ट्वीट गरी किमको उँचाइ र वजनका सम्बन्धमा व्यंग्य कसेका थिए । 

ट्रम्पको ट्वीटमा उल्लेख गरिएको थियो, ‘किमले मलाई बूढो भनेर किन अपमान गरेको जबकि म उनलाई कहिले पनि पुड्के र मोटे भन्दिनँ ?’

रोदोङ शिम्बुनले यही ट्वीटको जवाफमा सम्पादकीय लेखेको हो ।

सम्पादकीयमा ट्रम्पले कोरियाली सीमाको भ्रमण रद्द गरेको विषयमा पनि व्यंग्य गरिएको छ । ट्रम्पको हेलिकप्टर उक्त क्षेत्रको मौसम खराब भएपछि पाँच मिनेटमै फर्किएको थियो । तर अखबारले खराब मौसमलाई कारण बनाउनु झुट भएको र ‘मौसमले नभई हाम्रा सैनिकले बेस्सरी घुरेर हेर्ने भएकाले डराएर ट्रम्प त्यहाँ नआएको’ लेख्यो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्