
नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगममा लगानी गर्न विदेशी कम्पनी नआउने दाबी गरेका छन् ।
स्पष्ट योजनासहित स्वदेशी पुँजी परिचालन गर्न सकिने उनले बताएका छन् । मंगलबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद भट्टचनले २५ अर्ब रूपैयाँ स्वदेशमै जुटाउन सकिने बताएका हुन् ।
‘निगमले चाहेजस्तो लगानी गर्न विदेशी कम्पनी लगानी गर्न आउँदैन, विदेशी लगानी ल्याउने कुरा समय बिताउने खेल मात्र हुन्छ’ भट्टचनले भने, ‘नेपालका विभिन्न संस्था लाइफ इन्स्योरेन्सले यति एयरमा हालै मात्र १ अर्ब ८० करोड लगानी गरेका छन् । बीमा कम्पनीले मात्र २०/२५ अर्ब लगानी गर्न सक्छन् ध्यान दिनु होला ।’
सांसद भट्टचनले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ल्याएको ऋणलाई इक्विटीमा परिणत गर्न सरकारले नीतिगत निर्णय गर्न सकिने समेत बताए ।
निगमलाई प्राइभेट पार्टनरसीपमा सञ्चालन गर्न सकिने उनले बताए । ‘निजी कम्पनीले हप्ता दिनमा आवश्यक पाटपूर्जा ल्याएर काम गर्छ, सरकारी कम्पनीले खरिद ऐनको प्रक्रिया पूरा गर्दा ९० दिन लगाउँछ । त्यसैले निगमलाई निजीकरण गर्नेतर्फ लाग्नुस्’, उनले भने ।