
महाभियोग लागेपछि अपदस्थ भएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योएलविरुद्ध दोस्रोपटक पक्राउ पूर्जी जारी गरिएको छ ।
पहिलो पटकको गिरफ्तारी प्रयास असफल भएपछि दोस्रो पूर्जी जारी भएको हो । यससँगै कारण उनलाई पक्राउ गर्ने प्रयास थप तीव्र र विवादास्पद बन्ने संकेत देखिएको छ ।
उच्च पदस्थ अधिकारीहरूको भ्रष्टाचार अनुसन्धान गर्ने निकाय सीआईओका एक उच्च अधिकारीले युनलाई गिरफ्तार गर्न सबै उपाय प्रयोग गर्ने घोषणा गरेका छन् ।
उनले राष्ट्रपतिको सुरक्षाको लागि तैनाथ भएका सुरक्षाकर्मीको घेरालाई तोडेर पनि युनलाई हिरासतमा लिने प्रतिबद्धता जनाएका छन् ।
यससँगै राष्ट्रपतिको पक्ष र विपक्षमा रहेका प्रदर्शनकारीहरू कठ्यांग्रिने जाडो हुँदाहुँदै पनि सियोलको राष्ट्रपति निवास वरपर सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले युनको गिरफ्तारीलाई लिएर विभाजित धारणा राखेका छन् ।
राष्ट्रपति सुरक्षा सेवा(पीएसएस)ले यस हप्ताभर राष्ट्रपति निवासलाई काँडेतार, बस र अन्य अवरोधक सामान प्रयोग गरेर चारैतिरबाट घेराबन्दी गरेको छ ।
सियोलको 'कोरियाली बेभर्ली हिल्स'मा रहेको यो निवास अत्यन्त सुरक्षित राखिएको छ ।
गत साता सीआईओले अदालतबाट प्राप्त गरेको पहिलो पूर्जीका आधारमा युनलाई हिरासतमा लिने प्रयास गरेको थियो । तर, उनको सुरक्षा टोलीको टोलीको कडा प्रतिरोधका कारण असफल भएको थियो ।
युनमाथि गत ३ डिसेम्बरमा सैनिक शासन लागू गर्ने असफल प्रयाससँगै राजद्रोहको आरोप लागेको छ । महाभियोग लागेका राष्ट्रपतिविरुद्ध यसप्रकारको गिरफ्तारी वारेन्ट कोरियाको इतिहासमा पहिलोपटक जारी भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
युनको गिरफ्तारी प्रयासले दक्षिण कोरियाको राजनीतिक वातावरणलाई थप तनावग्रस्त बनाएको छ । सीआईओ र सरकारी सुरक्षा निकायहरू अब राष्ट्रपति युनलाई हिरासतमा लिने प्रयासमा अघि बढ्ने तयारी गरिरहेका छन् ।