
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट दबाब सृजना नगरिए शान्ति प्रक्रिया टुंगो लाग्न अरू १८ वर्ष लाग्न सक्ने बताएका छन् । माओवादीलाई सिद्धाउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिएको उनका जिकिर छ ।
शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल विषयक अन्तर्क्रियालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले राजनीतिक कारणले नै शान्ति प्रक्रिया नटुंगिएको बताएका हुन् । २०६३ मंसिर ५ मा शान्ति सम्झौता भएको थियो ।
‘विषय कानूनी भन्दा पनि राजनीतिक नै छ, अहिले टुंग्याउन कठिन भएको राजनीतिक विषय नै हो’ प्रचण्डले भने, ‘तर, एउटा प्रवृत्ति शान्ति प्रक्रियाको यो बिजनेस किन टुंग्याउने भन्नेमा छ । अर्को प्रवृत्ति माओवादीलाई तह लगाउने अब अन्तिम हतियार यही हो भन्ने ठानिरहेको छ ।’
राज्यमाथि दबाब सृजना गर्न पीडितहरूले सडकबाट संघर्ष गर्नुपर्ने बताए । कार्यक्रममा पूर्व कानून मन्त्री गोविन्द बन्दी र अग्नि खरेलले शान्ति प्रक्रियाका कामलाई छिटो टुंगो लगाउनुपर्ने बताएका थिए ।
शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दा पनि संक्रमणकालीन न्यायको विषय थाती रहँदै आएको छ।