११ असार २०८३, बिहीबार

राप्तीमा ४१ गोही छोडियो

पुस २४, २०८१
चितवन
राप्तीमा ४१ गोही छोडियो
फाइल फोटो

चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना रहेको छ ।

गत आवमा एक सय पाँच गोही नदीमा छोडिएको भन्दै नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने र त्यहाँ हुर्किएका बच्चालाई नदीमा छोड्ने गरिएको उनले जानकारी दिए ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा एक हजार नौ सय ९८ गोही छोडिसकिएको निकुञ्जका सूचना अधिकारी थापामगर उल्लेख गरे । ती गोही बच्चे दर रेट निकै न्यून छ ।

थापामगरले गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा एक सय ५२ र नारायणी एक सय तीन गोही भेटिएका जानकारी दिए । हाल प्रजनन केन्द्रमा सात सय ५९ वटा गोही छन् । तीमध्ये एक सय ९५ भुरा, चार सय ३२ किशोर अवस्थाका, एक सय अर्धवयस्क र ३२ वटा वयस्क रहेका छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमारलगायत देशमा पाइने घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् ।

सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति थियो भने सन् १९७० मा त्यसको दुई प्रतिशतमात्र सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् । 

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिएको थियो ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मानिसले माछा मार्नेलगायत गतिविधिका कारण गोही प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए ।

नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्