
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापितहरूको समस्या समाधान आयोग–२०८१ ले प्रतिवेदन बुझाएको छ ।
समितिका अध्यक्ष जयानन्द पनेरूले आज मन्त्री शाहीलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
सरकारले गत असोज २ गते मन्त्रिपरिषद्स्तरीय निर्णयबाट तीन महिनाको कार्यअवधि तोकी सो आयोग गठन गरेको थियो ।
उच्च अदालतका पूर्वन्यायाधीश पनेरू अध्यक्ष रहेको आयोगमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख मालपोत अधिकृत लक्ष्मणबहादुर कठायत, नापी कार्यालय कञ्चनपुरका प्रमुख नापी अधिकृत किशनसिंह विष्ट, डिभिजन वन कार्यालय कञ्चपनुरका डिभिजनल वन अधिकृत रामविचरी ठाकुर सदस्य छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साह सदस्य–सचिव छन् ।
आयोगले गत असोज ७ गतेदेखि काम आरम्भ गरी तोकिएको समयमा रायसहितको प्रतिवेदन तयार गरी सो प्रतिवेदन मन्त्रीसमक्ष पेस गरेको जनाएको छ ।