
नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)का कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको छ ।
महासंघले धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
केन्द्रीय सदस्य कमल रिमाल र शंकर खरेल, महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष भरतबहादुर खड्का, सुनसरी शाखा अध्यक्ष सन्तोष काफ्ले र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सबै दलसँग छलफलगरी तयार पारेको स्थलगत प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालिएको हो ।
प्रमुख राईले आफ्नो आलोचना गर्ने, शहरको अवस्थाबारे समाचार लेख्नेलाई गाली र अपमान गर्ने, आफ्ना समर्थकबाट धम्की दिने, शारीरिक हमला गर्ने र समाचार लेख्न नपाउने गरेको प्रतिवेदनमा उल्लेख छ ।
महासंघले नगर प्रमुखले कथा लेखेर र भिडियो बनाएर आफ्नो राम्रो कामका लागि युट्युबर प्रयोग गरेको भेटिएको पनि जनाएको छ । तर, व्यवसायिक पत्रकारहरूलाई निशाना बनाउने काम गरेको र जवाफ दिन अनुकूल प्रश्न नगर्नेलाई झोले पत्रकार भनेर गाली गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
मेयर राईले नगरका गतिविधिको सूचना मेयर राईले नदिने गरेको पनि जनाएको छ।
महासंघले कतिपय पीडित पत्रकारका छोराछोरीहरू, पत्रकार बुबाआमालाई धम्क्याएका वा गाली गर्दै लेखेका सामाजिक सञ्जालको स्टाटस हेरेर डराएको, विद्यालयमा पढ्न जानसमेत सशंकित हुने गरेको पाइएकोले त्रासको वातावरण व्यक्तिमा मात्र सीमित नरही परिवारको तहसम्म पुगेको जनाएको छ ।
