
हुलाकी राजमार्गको पूर्वी खण्ड झापा जिल्लाअन्तर्गत पर्ने झापा गाउँपालिका वडा नंं २ र गौरीगञ्ज गाउँपालिका वडा नं १ जोड्न कन्काई पुलको निर्माण विगत १३ वर्षदेखि अलपत्र परेको छ ।
विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो । यो पुल निर्माण सम्पन्न नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० गते चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई ठेक्का दिएको थियो । २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।
पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचौँ पटक थप भएको म्याद २०८० सालको असारमा सकिएको थियो ।
पुल निर्माणको काममा प्राविधिक त्रुटि देखिएपछि कार्यालयको अनुरोधमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले अध्ययन गरी सुझावसहितको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार देखिएका समस्याको समाधान गरी काम अगाडि बढाउन पटक–पटक निर्देशन दिइए पनि निर्माण कम्पनी काम सुरुआत नगरेको इञ्जिनियर राईले बताए । उनका अनुसार अझै पनि काम सुरु गर्न आनाकानी गरिराख्ने हो भने ठेक्का रद्द गरी नयाँ प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।
पटक–पटक मुख्यमन्त्री, निर्माण व्यवसायीलगायत सम्बन्धित क्षेत्रमा पहल गर्दा कुनै सुनुवाइ नभएको सोही क्षेत्रबाट कोशी प्रदेशसभा सदस्य लखीकुमारी गणेशले बताए । “लागत अनुमान अनुसार पुल निर्माणको काम नभएकाले अहिले आएर काम रोकिएको भन्ने बुझिएको छ”, उनले भने, “अहिलेको ठेक्का प्रक्रिाया रोकी पुनः ठेक्का प्रक्रिया अगाडि बढाउँदै अझै धेरै समय लाग्ने हुँदा पुरानोबाट नै लागत अनुमानअनुसार काम गराई पुल निर्माण सम्पन्न गर्नुपर्छ ।”
विगत १३ वर्षमा थुपै्र सरकारका निर्माण भए, प्रधानमन्त्री भए, मन्त्री भए तर चार वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम अझै पूरा हुन नसकेकोमा गौरीगञ्ज–१ का स्थानीय टङ्कप्रसाद श्रेष्ठले दुःख व्यक्त गरे ।
पुल बन्दाबन्दै के कारण विगत एक वर्षदेखि रोकिएको हो थाहा जानकारी नै नभएको झापा गाउँपालिका वडा नंं २ का वडाध्यक्ष हिमालकुमार चाम्लागाईले बताए ।