
भारतले आफ्नो ‘छिमेक पहिलो नीति’ र SAGAR (Security And Growth for All in the Region) को अवधारणालाई मूर्त रूप दिन अफगानिस्तान, माल्दिभ्स र श्रीलंकासँगको सम्बन्धलाई थप सुदृढ बनाइरहेको छ ।
पछिल्ला उच्चस्तरीय भेटघाटमा यी देशहरूसँग मानवीय सहायता, रक्षा, ऊर्जा र व्यापार सहकार्यबारे घनिभूत छलफल चलिरहेको छ । भारतको यस्तो पहलले दक्षिण एसियाको क्षेत्रीय स्थिरता र समृद्धिमा योगदान गर्ने दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन् ।
अफगानिस्तान: मानवीय सहायता र व्यापार प्रवर्द्धन
एक साताअघि संयुक्त अरब इमिरेट्सको दुबईमा भारतका विदेश सचिव विक्रम मिस्री र अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री मौलवी अमिर खान मुत्ताकीबीच सम्पन्न भेटवार्ताले भारत-अफगान सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको विश्वास गरिएको छ ।
उक्त भेटघाटमा अफगानिस्तानमा द्वन्द्वपछि सिर्जित मानवीय संकट र विकास परियोजनामा भारतको योगदानबारे विशेष छलफल भएको थियो ।
भारतले अफगानिस्तानलाई हालसम्म ५० हजार मेट्रिक टन गहुँ, ३ सय टन औषधि, १५ लाख COVID-19 खोप डोज र ११ हजार हाइजिन किटलगायत सामग्री उपलब्ध गराएको छ ।

यसबाहेक, भारतले अफगानिस्तानको आग्रहमा स्वास्थ्य क्षेत्र र शरणार्थी पुनर्वासमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
उक्त भेटपछि विदेश सचिव मिस्रीले भने, 'भारत र अफगानिस्तानबीचको ऐतिहासिक मित्रताले हाम्रो सहकार्यलाई थप मजबुत बनाएको छ । हामी अफगान जनताको आवश्यकता पूरा गर्न निरन्तर लागिपर्नेछौं ।'
उक्त भेटमा चाबहार बन्दरगाहलाई प्रयोग गर्दै अफगानिस्तानलाई क्षेत्रीय व्यापार केन्द्र बनाउने योजनाबारे पनि छलफल भएको थियो । अफगान पक्षले यस योजनालाई अफगानिस्तानको आर्थिक पुनर्निर्माणका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको बतायो ।
खेलकुद क्षेत्रमा पनि सहकार्य बढाउन दुवै देश सहमत भएका छन् । क्रिकेटजस्तो लोकप्रिय खेललाई प्राथमिकतामा राखेर युवा सशक्तीकरणमा जोड दिने सहमति उक्त भेटमा भएको थियो ।
अफगानिस्तान र भारतबीचको सम्बन्ध निकै पुरानो र ऐतिहासिक हो । दुवै देश सिल्क रोड व्यापारमार्गमार्फत जोडिएका छन् ।
सन् २००१ मा अफगानिस्तानबाट तालिवानको पतन भएपछि भारतले पुनर्निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो । सलमा ड्याम निर्माण, संसद भवनको निर्माण र अन्य सडक यातायात र पूर्वाधार सुधारमा भारतले अफगानिस्तानलाई ठूलो सहयोग गरेको थियो ।
२०२१ मा तालिबानको पुनः उदयपछि भारतले मानवीय सहायता केन्द्रित नीति अपनाएको छ । यसले अफगानिस्तानलाई औषधि, खाद्यान्न, खोप र अन्य सामग्री उपलब्ध गराउँदै आएको छ । तर, तालिबान शासनप्रति भारतको राजनीतिक मान्यता अझै स्पष्ट छैन ।
माल्दिभ्स: रक्षा र सुरक्षा सहकार्य
गत साता नयाँ दिल्लीमा भारतका रक्षा मन्त्री राजनाथ सिंह र माल्दिभ्सका रक्षा मन्त्री मोहम्मद गास्सान मौमुनबीच भएको द्विपक्षीय वार्ताले दुवै देशबीचको रक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्याएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उक्त वार्तापछि माल्दिभ्सको आग्रहअनुसार भारतले आधुनिक रक्षा उपकरण र सामग्री हस्तान्तरण गरेको छ । बैठकमा द्विपक्षीय रक्षा साझेदारीलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको थियो ।

वार्तापछि रक्षा मन्त्री सिंहले भनेका थिए, 'भारतको छिमेक पहिलो नीतिअन्तर्गत माल्दिभ्स विशेष स्थानमा छ । हाम्रो साझेदारीले भारत-माल्दिभ्सको समृद्धि र सुरक्षा अभिवृद्धि गर्ने विश्वास लिएका छौं ।'
भेटपछि माल्दिभ्सका मन्त्री मौमुनले पनि भारतको सहयोगले आफ्नो सुरक्षा क्षमतामा महत्त्वपूर्ण सुधार भएको भन्दै प्रसंशा गरेका थिए ।
प्राचिन कालमा माल्दिभ्समा हिन्दु धर्मको ऐतिहासिक प्रभाव भएकाले भारत र माल्दिभ्सबीच गहिरो सांस्कृतिक सम्बन्ध स्थापित भएको छ । यसका साथै भारतले माल्दिभ्सको सुरक्षामा सधैं महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
सन् १९८८ मा माल्दिभ्समा भएको 'कू' प्रयास विफल गर्न भारतले आफ्नो सैन्य शक्ति प्रयोग गरेको थियो । त्यसपछि माल्दिभ्सले भारतलाई विश्वासिलो सुरक्षा साझेदारका रूपमा हेर्न थालेको थियो ।
पछिल्ला वर्षमा भारतले माल्दिभ्समा रक्षा उपकरण आपूर्ति, तटीय निगरानी प्रणाली स्थापना र माल्दिभ्सका सेनालाई तालिम दिने काम गरेको छ ।
पछिल्लो समय माल्दिभ्समा चीनको प्रभाव बढेको आशंकासँगै भारतले आफ्नो कूटनीतिक र रणनीतिक सक्रियता बढाएको छ । बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत माल्दिभ्समा चीनको प्रवेश भारतका लागि चुनौतीको रूपमा देखिएको छ ।
श्रीलंकासँग ऊर्जा सहकार्य
त्यस्तै पछिल्लो समय भारत र श्रीलंकाबीच विद्युत् ग्रिड अन्तरसम्बन्ध योजना कार्यान्वयन गर्ने विषयमा छलफल भइरहेको छ । यस परियोजनाले श्रीलंकालाई नवीकरणीय ऊर्जा निर्यातको माध्यमबाट आर्थिक फाइदा दिलाउन सक्नेछ ।
भारतले नेपाल, भूटान र बंगलादेशसँग सफलतापूर्वक विद्युत् आदानप्रदान परियोजना सञ्चालन गरिरहेको छ । नेपाल अहिले भारतलाई विद्युत् निर्यात गर्दै आर्थिक लाभ लिइरहेको छ । भूटानले २०२२ मा मात्र भारतलाई जलविद्युत् बेचेर करिब ११ मिलियन डलर आय गरेको थियो ।
यस्तै मोडेल श्रीलंकामा पनि लागू गर्न सकिने ऊर्जा विशेषज्ञहरूको भनाइ छ ।
श्रीलंका र भारतबीच प्राचिन कालदेखि नै सांस्कृतिक, भाषिक र अन्य सम्बन्ध स्थापित भएको छ । तर, पछिल्लो समय भारत-श्रीलंकाको सम्बन्ध समय-समयमा उतार-चढावपूर्ण रहँदै आएको छ ।

सन् १९८० को दशकमा श्रीलंकाको गृहयुद्धका समयमा भारतले शान्ति स्थापनाका लागि प्रयास गरेको थियो । भारत-श्रीलंका शान्ति सम्झौताअन्तर्गत भारतीय शान्ति सेना श्रीलंकामा खटाइएको थियो, तर यसले विवादास्पद परिणाम निम्त्यायो ।
भारत श्रीलंकाका लागि सबैभन्दा ठूलो व्यापार साझेदारहरूमध्ये एक हो । पछिल्लो समयमा श्रीलंकाले आर्थिक संकटको सामना गरिरहेको बेला भारतले तेल, खाद्यान्न र वित्तीय सहयोग प्रदान गरेको थियो ।
क्षेत्रीय स्थिरता र विकासका लागि भारतले गर्न खोजेकोनेतृत्व
भारतले अफगानिस्तान, माल्दिभ्स र श्रीलंकासँगको सहकार्यलाई केवल द्विपक्षीय लाभसम्म सीमित नराखी क्षेत्रीय स्थिरता र समृद्धिका लागि आधारस्तम्भका रूपमा अगाडि बढाएको चर्चा भारतीय सञ्चारमाध्यमहरूले गरिरहेका छन् ।
मानवीय सहायता, रक्षा, ऊर्जा, र व्यापारमा भएका यी पहलहरूले भारतको नेतृत्वलाई थप सुदृढ बनाउने विश्वास विज्ञहरूको छ ।
भारतले लिएका यस्ता पहलहरू सफल भएमा भारतले आफ्नो ‘छिमेक पहिलो नीति’ अन्तर्गत क्षेत्रीय साझेदारीको नेतृत्व गर्न सक्नेछ ।