११ साउन २०८३, सोमबार

ओखलढुङ्गाको चुनावी भिडन्त, सुन्दर सपना बाँड्दै दलहरु

मंसिर २, २०७४
ओखलढुङ्गाको चुनावी भिडन्त, सुन्दर सपना बाँड्दै दलहरु

ओखलढुंगा, २ मंसिर– नेपाली काँग्रेस र वाम गठबन्धनको चुनावी घोषणपत्रमा पूर्वाधार निर्माणदेखि सुन्दर र सम्पूर्ण दृष्टिकोणले सम्पन्न जिल्ला बनाइने प्रतिबद्धता अघि सारिएको छ । 

काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडा, प्रदेशसभा ९क० का उम्मेदवार मित्रसेन दाहाल र प्रदेशसभा (ख) का उम्मेदवार प्रदीपकुमार सुनुवारको प्रतिबद्धतापत्रमा पाँच वर्षभित्र हरेक वडामा स्थानीय आवश्यकतानुसार एक परियोजना सञ्चालन गर्ने योजना बनाइएको छ ।
 
त्यस्तै सम्भाव्यता अध्ययन गरी स्थानीयस्तरमा ‘एक पालिका एक उद्योग’, ‘एक गाउँ एक उद्यम’ सञ्चालन गरिने उल्लेख छ । 

वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा यज्ञराज सुनुवार, प्रदेशसभा (क)का अमीरबाबु गुरुङ र प्रदेशसभा ९ख०का मोहनकुमार खड्का हुनुहुन्छ । उनीहरुको संयुक्त चुनावी प्रतिबद्धतामा प्रत्येक स्थानीय तहमा न्यूनतम एक उद्योगग्राम विकासका क्रममा खिजीदेम्बा गाउँपालिकामा व्यवस्थित रुपमा नेपाली कागज उद्योग स्थापना गरी त्यसको निकासी तथा पैठारीको व्यवस्था गरिने जनाइएको छ । 

त्यसैगरी एक वडा एक उत्पादनको अवधारणा लागू गरिने उल्लेख छ । 

काँग्रेसका उम्मेदवारले गुणस्तरीय र रोजगारमूलक शिक्षाका लागि नगरपालिका तथा गाउँपालिकामा कम्तीमा एक प्राविधिक शिक्षालय स्थापना गर्ने योजना तय गरेका छन् । साथै एक विद्यालय एक पुस्तकालय अभियानअन्तर्गत इ–लाइब्रेरीसहित विद्यालय पुस्तकालयलाई व्यवस्थित र पठनीय बनाइने योजना अघि सारिएको छ । 

वाम गठबन्धनका उम्मेदवारले प्रत्येक गाउँपालिका र नगरपालिकामा गुणस्तरीय र अनिवार्य शिक्षाका लागि आफ्नो कूल बजेटको १५ प्रतिशत शिक्षामा लगानी गर्ने योजना कार्यान्वयन गर्ने जनाएका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गर्न गुरुकुल, विहार, गुम्बा, खुला एवं वैकल्पिक शिक्षा कार्यक्रमलाई राष्ट्रिय शिक्षा प्रणालीसँग आबद्ध गरिने योजना छ । 

काँग्रेसले प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न न्यूनतम १५ शय्याको अस्पताल स्थापना गर्ने र हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ । वाम गठबन्धनले प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा १५ तथा नगरपालिकाको केन्द्रमा ५० शय्याको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न पहल गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । 
काँग्रेसले आफ्नो प्रतिबद्धतापत्रमा घर घरमा विद्युत् आपूर्तिका लागि ग्रामीण विद्युतीकरण र वैकल्पिक ऊर्जाको व्यवस्था गर्ने जनाएको भने वाम गठबन्धनले पाँच वर्षभित्र जिल्लालाई ऊर्जामा आत्मनिर्भर बनाउन विद्युत् ऊर्जा विकासलाई प्राथमिकताका साथ अगाडि बढाउने वचन दिएको छ । 

काँग्रेसले भूकम्पपीडितलाई भवन निर्माण तथा राहतमा सहयोग गर्ने वचन दिएको छ भने वामपन्थी गठबन्धनले भूकम्पबाट घर भत्किएर तथ्यांकमा छुटेकालाई एक वर्षभित्र अनुदान उपलब्ध गराउने वचन दिएको छ । 

पर्यटन तथा धर्म संस्कृतिको विकास गरी पर्यटकीय गन्तव्य बनाउन काँग्रेसले बृहत् हलेसी परिपथ निर्माण गरी धार्मिकस्थल नर्मदेश्वर महादेव, ककनी चम्पादेवी, दूधकुण्ड, लिब्जु, हलेसी आदिको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने योजना अघि सारेको छ । 

कोटगढी, ककनी, सेप्ली, लिब्जु, चाँगेस्थान, नर्मदेश्वर महादेव, मोली, चुली, देम्बा, चम्पादेवी, गणेशकुुण्डजस्ता ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वपूर्णस्थलको संरक्षण गर्दै पूर्वाधारको विकास गरी पर्यटकलाई आकर्षित गर्ने गठबन्धनले जनाएको छ । 

काँग्रेसले प्रत्येक वडामा कम्तीमा एक खेलकुद प्रशिक्षक र एक खेल मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने वाम गठबन्धनले मानेभञ्ज्याङ, च्यानम, ठूलाछाप र गाम्नाङटारमा रहेको खेलकुद मैदानलाई स्तरीकृत गरी क्षेत्रीयस्तरको खेलकुद मैदानका रुपमा विकास गर्ने जनाएको छ । 

सञ्चारको विकासमा काँग्रेसले गाउँगाउँमा वाइफाईको सुविधा पुर्याउने जनाएको छ भने गठबन्धनले कोटगढी क्षेत्र, लगलगे, देम्बा क्षेत्र, कोषभञ्ज्याङ, पलापुलगायत स्थानमा टेलिफोन टावर निर्माण गरिने उल्लेख गरेको छ । 

वाम गठबन्धनले रुम्जाटार विमानस्थललाई थप विस्तार गर्न पहल गरिने र सिद्धिचरण नगरपालिकाभित्र दुई वर्षमा व्यवस्थित बसपार्क निर्माण गरिने जनाएको छ । 

प्रतिनिधिसभाका उम्मेदवार सुनुवारले वाम गठबन्धनले तयार पारेको प्रतिबद्धतापत्र कार्यान्वयन गर्न सकिने खालको भएको र तीनदेखि पाँच वर्षमा ओखलढुंगाको विकासमा आमूल परिवर्तन गर्ने आफ्नो योजना भएको बताए । 

प्रतिनिधिसभाका अर्का उम्मेदवार खतिवडाले जिल्लाको समग्र विकासका लागि प्रतिबद्धतापत्र बनाएको र आफूले चुनाव जितेमा सोहीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

ओखलढुंगा क्याम्पसका उपप्राध्यापक युवराज दाहालले दुवै पार्टीको घोषणापत्रको विश्लेषण गर्दै    निर्वाचनका लागि जनताको आँखामा छारो हाल्नका लागि कर्मकाण्डी घोषणापत्र बनाउनुभन्दा पनि आफूले गर्न सक्ने र सम्भव भएका योजना मात्र दलहरुले बनाउनुपर्ने बताए । 

नागरिक समाजका अगुवा हितराज कार्कीका अनुसार घोषणापत्र जनतालाई प्रलोभन देखाउनका लागि नभएर आफूले कार्यान्वयन गर्न सक्ने हुनुपर्छ । ‘दुवै दलका कतिपय कुरा पूरा गर्न निकै समय लाग्न सक्छ, तर योजना बनाएर अघि बढ्दा असम्भव केही छैन,’ उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्