
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
चालु आर्थिक वर्षको ६ महिना अवधिमा झण्डै ४ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुस सम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका हुन् । जसमा पुस महिनामा मात्रै ६७ हजार जनाले विदेश जानका लागि श्रम स्वीकृति लिएका छन् ।
००००
किक्रेटर सन्दीप लामिछानेले राष्ट्रिय टिमबाट सन्यास लिएको आशय व्यक्त गरेका छन् ।
गए मध्यराति आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट लेख्दै उनले सबैलाई धन्यवाद दिएका छन् । राष्ट्रिय टिमबाट सन्यास लिएको भन्ने प्रष्ट शब्द उल्लेख नगरेपनि उनको पोस्टको आशय त्यही छ । उनको पोस्टमा समर्थकहरूले निवृत्त जीवन सफल रहोस् भनेर शुभकामना दिएका छन् ।
कतिपयले भने सन्दीपले घुर्की दिएको भनेर प्रतिक्रिया जनाएका छन् ।
सन्दीप नेपाली राष्ट्रिय टोलीको कप्तान भइसकेका क्रिकेटर हुन् । हालै सम्पन्न नेपाल प्रिमियर लिगमा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए भने जय ट्रफीमा बागमतीको कप्तानी गरेका थिए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमिति बैठक यही माघ ११ र १२ गते काठमाडौँमा आह्वान गरेको छ ।
साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
००००
कोशी प्रदेशमा पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता उद्धव थापामाथि झापामा दुव्र्यवहार भएको छ । शनिबार कन्काई नगरपालिका वडा नम्बर–१ मा उनीमाथि विद्युत् प्राधिकरणको सुरुङ्गा शाखामा कार्यरत हेल्पर र सवारी चालकले दुव्र्यवहार गरेका हुन् ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास स्वीकार्य नहुने बताएका छन् ।
शनिबार तनहुँको दमौलीमा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिको विस्तारित बैठकमा उनले संविधान संशोधनको नाममा सीमित दल अस्तित्वमा रहने गरी गरिने कुनै पनि कार्य स्वीकार्य नहुने बताएका हुन् ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताएका छन् ।
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका(५ तेतेरियामा शनिबार गरेको धन्यवाद ज्ञापन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो उद्घोष गरेका हुन् ।
००००
आईसीसी यू–१९ टी २० महिला विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालबङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ ।
५३ रनको सामान्य विजयी लक्ष्य पच्छ्याएको बङ्गलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा र्गयो ।
००००
नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।