
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कर्जा असुलीमा स्थानीय तहले सहयोग नगरेको बताएका छन् ।
मंगलबार पत्रकारसँगको भेटघाट कार्यक्रममा संघका अध्यक्ष कोइरालाले बैंकहरूलाई कर्जा असुलीमा स्थानीय सरकारले सहयोग नगरेको बताएका हुन् ।
लोन रिकभरीमा समस्या हुँदा बैंकहरूको गैरबैंकिङ सम्पत्ति बढेको र वितरणयोग्य नाफामा यसको प्रभाव परेको उनको भनाइ छ ।
‘लोन रिकभरीमा चुनैती छ । बैंकमा कर्मचारीहरूमाथि हातपात समेत हुने गरेको छ । स्थानीय तहबाटै असहयोग भइरहेको छ’, अध्यक्ष कोइरालाले भने, ‘पालिकाहरूबाट लिनुपर्ने स्वीकृति नदिएर, बैंकका कर्मचारीहरूलाई घुमाइरहेको समेत पाइएको छ । स्थानीय सरकारले कर्जा असुलीमा सहयोग गरेको छैन ।’
दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खराब कर्जा बढेको उनले बताएका छन् । खराब कर्जा बढेपनि बैंकहरू कमजोर अवस्थामा नरहेको कोइरालाको भनाइ छ ।