
अमेरिकाबाट फर्किएर पुर्ख्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) शुरू गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी, सीप र ज्ञान स्वदेश भित्र्याउने । तर, यो सपना यथार्थमा परिणत गर्न कम चुनौती छैन । किनकि निकै पेचिलो बनिरहेको नागरिकताको विषयले घिमिरेलाई चिन्तित तुल्याएको छ ।
नेपालमा पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका गैरआवासीय नेपाली नागरिक घिमिरेलाई यहाँ बस्ने स्थायी भिसा छैन, त्यसैले उनी नेपाल–अमेरिका आउजाउ गरिरहन्छन् । नेपाली नागरिकको हैसियत पाए आफूजस्ता धेरै नेपालीले यहाँ लगानीको बहार ल्याउने उनको दाबी छ । वंशजको नेपाली नागरिकताको निरन्तरता हुन सके वासुजस्ता लाखौँ नेपाली स्वदेश फर्किएर आफूसँगै पुँजी र सीप लिएर आउने घिमिरेको जिकिर छ ।
विदेशमा जुनसुकै पेसा–व्यवसाय गरेको भए पनि ६० वर्ष उमेरहद नाघेपछि उसले राज्यबाट ‘पेन्सन’ पाउने व्यवस्था हुन्छ । यदि विदेशिएका नेपालीको वंशजका नागरिकताले निरन्तरता पाउने हो भने उनीहरूसँगै सीप, ज्ञान र अर्बौं रुपैयाँ नेपाल भित्रने ‘नागरिकता खोइ ?’ अभियानका संयोजक वासु घिमिरे बताउँछन् । यसरी वंशजको नागरिकता दिँदा राज्यलाई कुनै घाटा नहुने उनको तर्क छ ।
'एनआरएन नागरिकताले गैरआवासीय नेपालीको नेपालमा लगानी भित्र्याउन सकेन । त्यसैले वंशजको नागरिकताको आवश्यकता महसुस भएको हो,' संयोजक घिमिरेले भने, 'अब विदेशमा सिकेको सीप, ज्ञान र पुँजीलाई नेपालमा लगानी बढाउनुपर्छ भनेर पाँच महिनादेखि पैरवी गरिरहेका छौँ ।'
वंशजका आधारमा एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता भएको खण्डमा विश्वभरिबाट पाँच लाख नेपाली भित्रिने र यसबाट अर्बौं रुपैयाँ नेपाल भित्रिने उनको दाबी छ ।
यो अभियानबारे नेपालका प्रमुख राजनीतिक दलहरूसँग पनि ‘लबिङ’ गरिएको संयोजक घिमिरेले बताए । रासस