काठमाडौं, ५ माघ-भारतबाट आयात भइरहेको बिजुली मंगलबार पहिलोपटक काठमाडौं आएको छ । खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनको निर्माण सकिएपछि भारतबाट आयात भएको करिब २० मेगावाट बिजुली काठमाडौं आएको हो ।

‘प्रसारण लाइन बनेपछि भारतबाट आयातीत बिजुली काठमाडौं उपत्यकामा भित्राउन नयाँ बाटो बन्यो,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘मंगलबार साँझ ६ बजेर दुई मिनेटमा ढल्केबर–खिम्ती–लामोसाँघु प्रसारण लाइन हुँदै भारतबाट आयातीत २० मेगावाट बिजुली काठमाडौं भित्रिएको छ ।’
भारतबाट आयातीत बिजुली ल्याउन सम्भव भएपछि उपत्यकामा अब लोडसेडिङ नहुने पक्का भएको छ, नयाँ पत्रिकामा खबर छ । तिहारपछि काठमाडौं उपत्यका लोडसेडिङमुक्त छ । प्राधिकरणका प्रवक्ता अधिकारीले भारतबाट थप बिजुली उपत्यकामा भित्रिएपछि प्रणालीको विश्वसनीयता र स्थिरतामा वृद्धि भएको बताए ।