०४ असार २०८३, बिहीबार

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच कहिले पनि आएन

माघ २०, २०८१
बाग्लुङ
१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच कहिले पनि आएन

बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भएका छन् । गतवर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । 

विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानमा गनिन्छन् । उनले भने, 'पुरस्कृत भइसकेपछि काउली उत्पादनमा झनै मेहनत गरेँ ।  यस वर्ष १२ केजी आठ सय ८० ग्रामको काउली फलाउन सफल भएँ ।'

उनले १८ रोपनी जग्गा तरकारीखेती गर्दै आएका छन् ।  आफ्ना साथीभाइ वैदेशिक रोजगारमा पलायन हुँदै गर्दा खत्रीको मनमा कहिलै विदेश जाने सोच आएन । 

स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १० देखि १२ लाख आम्दानी गर्दै आएका छन् । अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको खत्रीले बताए । 

तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा र पाँच रोपनी बाँझो जग्गालाई सदुपयोग गर्दै उनले व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । 

खत्रीको फार्ममा आठवटा प्लाष्टिक टनेलमध्ये दुईवटा हाइटेक र अन्य परम्परागत टनेल छन् । खत्रीले कृषि ज्ञान केन्द्र र बागलुङ नगरपालिकाको प्राविधिक सहयोगमा आफू सफल भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्