
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
मुलुकको कूल व्यापार घाटा सात खर्ब २३ अर्ब ५८ करोड बराबर पुगेको छ । चालु आर्थिक वर्षको छ महिनामा कूल वस्तु व्यापार घाटा चार दशमलव चार प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव छ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात नौ दशमलव आठ प्रतिशत थियो ।
००००
सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।
००००
‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा रु तीन अर्ब बढी करोबारमा संलग्न २४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली नागरिक रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
००००
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ता लामो भ्रमण सकेर आइतबार काठमाडौँ फर्किएकी छिन् । उनले विराटनगरको विग होटेलमा बसेर राजनीतिक भेटघाट समेत गरेकी थिइन् ।
माघ १४ गते विराटनगरमा आएकी भण्डारीले एमालेका नेता कार्यकर्तादेखि फरक पाटीका नेताहरूसँग समेत भेटघाट गरेकी हुन् । भण्डारीलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समेत भेटेका थिए ।
००००
६ महिनामा उच्च शिक्षाका लागि नेपालबाट ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ ।
चालू आर्थिक वर्षको पुस महिनासम्म नेपाली विद्यार्थीहरूमार्फत उच्च शिक्षा अध्ययनका नाममा ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो ।
००००
जातीय आधारमा गरिने भेदभावलाई कसुर मानेर कानूनी कारबाही गर्नुपर्ने मागसहित जनमत पार्टीका अध्यक्ष डा सीके राउतले प्रतिनिधिसभामा गैरसरकारी विधेयक दर्ताका लागि निवेदन दिएका छन् । राउतले संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई विधेयक दर्ताका लागि निवेदन दिएका हुन् ।
००००
कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।
थापाकै योजनामा म्याग्दीमा सञ्चालित उक्त सहकारीका ६ हजार बचतकर्ताको रकम अपचलन गरिएको प्रहरीको दाबी छ ।
००००
सरकारले विमानस्थल निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई समेत दिन सक्ने गरी विधेयक संसद्मा दर्ता गरेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ‘हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक २०८१’ संसद् सचिवालयमा दर्ता गरेका हुन् ।
अहिले नागरिक उड्डयन प्राधिकरणले गरिरहेको कामलाई विभाजन गर्ने गरी मन्त्रालयले हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी ऐनलाई संशोधन गर्ने दुई छुट्टाछुट्टै विधेयक संसद्मा दर्ता गराएको हो ।
००००
शेयर बजारमा आइतबार निकै ठूलो उछाल आएको छ । नेप्से परिसूचक ६९.८० ले वृद्धि हुँदै २७२७.५८ बिन्दुमा पुगेको छ ।
परिसूचक ठूलो अंकले बढ्दा कारोबार पनि झण्डै १३ अर्ब पुगेको छ ।
००००
स्थानीय बजारमा सुनको मूल्य आइतबार स्थिर रह्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० कायम भएको हो ।
चाँदीको मूल्य भने प्रतितोला ५ ले घटेर १ हजार ९ सय १० मा कारोबार भएको महासंघले जनाएको छ ।