
चर्चित गायक उदित नारायण झा बलिउडका वरिष्ठ गायक हुन् । उनको आवाजका लाखौं प्रशंसक छन् । उनले आफ्नो सांगीतिक यात्रामा थुप्रै हिट गीतहरू गाएका छन् । उनका कयौं नेपाली गीतहरू कालजयी समेत छन् ।
तर, हालै एक लाइभ कन्सर्टका क्रममा उनले एक महिला प्रशंसकसँग यस्तो व्यवहार गरे, जसका कारण अहिले उनी सामाजिक सञ्जालमा चर्को ट्रोलिङको सामना गरिरहेका छन् ।
उनले एक महिला प्रशंसकलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस घटनापछि उनी सामाजिक सञ्जालमा तीव्र आलोचनाको सामना गरिरहेका छन् । सामाजिक सञ्जालमा विभिन्न भिडियो क्लिपहरू देख्न सकिन्छ, जहाँ उदित नारायण ‘टिप टिप बरसा पानी’ गीत गाइरहेका छन्।
त्यही क्रममा एक महिला फ्यान उनीसँग सेल्फी लिन मञ्च नजिक आउँछिन् । सेल्फी खिचेपछि ती महिला फ्यानले उदितको गालामा चुम्बन गर्छिन् । त्यसपछि उदितले पनि उनलाई ओठमै चुम्बन गर्छन् । केहीबेरपछि अर्को महिला फ्यान उदितसँग सेल्फी लिन आउँछिन्, जसलाई पनि उनले गालामा चुम्बन गर्छन् । उदितले यही लाइभ शोका क्रममा महिला प्रशंसकलाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।
सामाजिक सञ्जालमा उनलाई व्यापक रूपमा ट्रोल गरिँदैछ । एक प्रयोगकर्ताले लेखेका छन्, ‘उदितजी गीतसँगै अरू कुरामा पनि धेरै नै बहकिनुभएको छ जस्तो छ।’
अर्का प्रयोगकर्ताले ‘ठरकी’ भनी टिप्पणी गरेका छन् । अर्का एक जनाले त ‘अब छिट्टै उदित नारायणको डिभोर्सको खबर आउनेछ’ भनेका छन्।
त्यस्तै, अर्का प्रयोगकर्ताले ‘आदित्य, आफ्ना पापा सम्हाल’ भन्दै उदितका छोरा आदित्य नारायणलाई व्यंग्य गरेका छन्।
के भन्छन् उदित नारायण ?
आइतबार उदित नारायणले बलिउड हङ्गामालाई दिएको अन्तर्वार्तामा यस विषयमा बोलेका छन् । उनले उक्त घटनालाई आफू र फ्यानहरूबीचको प्रेमको अभिव्यक्तिका रूपमा अर्थ्याएका छन् ।
‘के मैले कहिल्यै आफूलाई, आफ्नो परिवारलाई वा आफ्नै देशलाई लज्जित बनाउने कुनै काम गरेको छु? जब म जीवनको यो मोडमा आइपुगेको छु, मैले सबैथोक हासिल गरिसकेको छु भने अब किन कुनै गलत काम गर्नुपर्छ?’, उनले भने, ‘मेरा फ्यानहरूसँग मेरो गहिरो, पवित्र र अटुट सम्बन्ध छ । भाइरल भिडियोमा जुन देख्नुभयो, त्यो मेरो र मेरा फ्यानहरूबीचको प्रेमको अभिव्यक्ति हो । उनीहरू मलाई प्रेम गर्छन्, म त उनीहरूलाई झन् बढी माया गर्छु ।’
कुनै पछुतो छैन
उदितले यो घटनामा कुनै लज्जाबोध वा पछुतो नरहेको प्रस्ट पारेका छन् । यो कुनै गुप्त वा लाजमर्दो कुरा नभएको उनको भनाइ छ । उनले आफ्नो मन सफा रहेको दाबी समेत गरेका छन् ।
‘म लज्जित किन हुनुपर्छ? के मेरो आवाजमा कुनै पछुतो वा दुःख सुनिन्छ? बरु, म तपाईंसँग कुरा गर्दा हाँस्दैछु । यदि केही मानिसहरू मेरो प्रेमलाई गलत रूपमा बुझ्न चाहन्छन् भने, म त उनीहरूकै लागि दु:खी छु । तर, म उनीहरूलाई धन्यवाद दिन चाहन्छु, किनकि उनीहरूले मलाई पहिलेभन्दा अझै बढी चर्चित बनाइदिएका छन् ।’
भारत रत्न पाउने चाहना
उदितले भारत रत्न पाउने इच्छा समेत व्यक्त गरेका छन् । आफूले थुप्रै फिल्मफेयर अवार्ड, राष्ट्रिय पुरस्कार, पद्मश्री र पद्म भूषण प्राप्त गरिसकेको उल्लेख गरे ।
‘म लता मङ्गेशकरजस्तै भारत रत्न पाउने सपना देख्छु । उनी मेरो आदर्श हुन् । के तपाईंलाई थाहा छ ? मेरो पुस्ताका गायकहरूमा लताजीलाई म सबैभन्दा मन पर्थें’, उदितले भने, ‘मैले आफ्ना समकालीन गायकहरूमध्ये सबैभन्दा धेरै गीत उनीसँग गाएको छु । जब ममा माता सरस्वतीको आशीर्वाद छ, तब मलाई ती मानिसहरूको पर्वाह किन गर्नुपर्छ, जो अरूको सफलता देख्न सक्दैनन् !’