२३ असार २०८३, मंगलबार

देशमा कायाकल्प भएको छ, निराशाको खेती नगरौं– गगन थापा

माघ २२, २०८१
काठमाडौं
देशमा कायाकल्प भएको छ, निराशाको खेती नगरौं– गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २ दशकको अवधिमा देशमा विकासको कायाकल्प भएको दाबी गरेका छन् । केही भएको छैन भन्ने निराशाको खेतीलाई चिर्ने जिम्मा कांग्रेस कार्यकर्ताको भएको उनले बताए ।

नेपाली कांग्रेस पर्वतले मंगलबार पैयुँमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले दुई दशको अवधिमा गाउँमा धेरै विकास भएको आफूले प्रत्यक्ष देखेको बताएका हुन् । सडक, पूर्वाधार र सञ्चार क्षेत्रमा चमत्कारिक विकास भए पनि अझै गर्नुपर्ने काम थुप्रै रहेको उनले बताए ।

‘जनआन्दोलनपछिका २ दशकमा हामीले राजनीतिक थिति बसालेका छौं, अब अर्को आन्दोलन गर्न पर्दैन । देशमा केही नभएको होइन । कायाकल्प भएको अवस्था देखेको छु, यो भन्दै गर्दा समस्या नभएको होइन,’ थापाले भने, ‘विश्वविद्यालयको सर्टिफिकेट हातमा लिएको तन्नेरीले काम पाइरहेका छैनन् । काम नपाएकाले गर्दा छटपटिएका छन्, आजको यथार्थ हो । आजको यथार्थ के हो भन्ने कुरालाई कांग्रेसले पर्गेल्न सक्नुपर्छ, सब ठीकठाक छ भन्ने कुराले डुबाउँछ, केही भएको छैन भन्ने कुराले पनि डुबाउँछ । केही ठीक काम गरेका छौं, केही गल्ती भएको छ । गल्ती सच्चाउछौं भन्नुपर्छ ।’​​

प्रजातन्त्र स्थापनापछिका दशक राजनीतिक संक्रमणमा गुज्रेकोले ८० को दशकमा समृद्धिमा फड्को मार्नुपर्ने उनले बताए । ‘देशले आर्थिक फड्को मार्नुपर्ने बेलामा बिग्रियो भनेर हुँदैन । नेपालमा जादुगर चाहिन्छ भन्ने सोचले डुबायो । १० वर्षलाई कांग्रेसको नेतृत्वमा सबैलाई मिलाएर समुन्नतिको दशक बनाउने हो । सबैलाई समान अवसर दिने र नागरिकलाई धनी बनाउने हो,’ थापाले भने, ‘यो अवधिमा प्रत्येक नेपालीका आय दोब्बर बनाउने संकल्प गर्ने हो, सम्भव छ ।’

कांग्रेस कार्यकर्ताले देशमा फैलिरहेको निराशाको भाष्यलाई चिर्नुपर्ने उनले बताए । ‘नेपालमा केही हुँदैछ, देश बन्दैछ, हामी बनाउँछौं । कांग्रेसको नारा हुनुपर्छ हामी सक्छौं, भाग्ने होइन जिम्मा लिने हो । तन्नेरीलाई रोजगारी दिन सक्छौं । नेपालीलाई नेपाल भित्रै बस्न सक्ने अवस्था निर्माण गर्ने हो,’ थापाले भने ।

salt training

कमेन्ट गर्नुहोस्