
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत कर्णालीमा आजदेखि पाठेघर मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान शुभारम्भ भएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत लेकबेँसी नगरपलिका–४ दशरथपुरस्थित श्री जीवनज्योति माध्यमिक विद्यालयमा आज खोप अभियान शुभारम्भ गरे । उनले खोप अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरणमा उल्लेख्य टेवा पुग्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य समस्याका कारण नागरिकले पीडा महसुस हुन नदिन प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिको हकमा बीमा उपचारसँगै थप ५० प्रतिशत सहुलियत गर्ने योजना रहेको सुनाए ।
खोप अभियानका क्रममा कर्णाली प्रदेशभर करिब एक लाख २० हजार किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य रहेको छ ।