
भारतले पेन्सनवाला भारतीय गोर्खा सैनिक र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ ।
भारतको ७७औं सेना दिवसको अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तव भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरूका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति उनले कृतज्ञता प्रकट गरे।
काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको पनि सम्झना गरे ।
कार्यक्रममा नेपालका प्रधान सेनापति तथा भारतीय सेनाका मानार्थ महारथी अशोक राज सिग्देल समारोहको प्रमुख अतिथिको रूपमा उपस्थित थिए । समारोहमा नेपालका पूर्वसेना प्रमुख, बहालवाला एवम् सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरूको उपस्थिति थियो ।

महारथी सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेंद्र द्विवेदीलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७औं सेना दिवसको शुभकामना व्यक्त गरे ।
दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे ।
भारतीय सेनाको वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान गरे ।

सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) केएम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रूपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाइन्छ ।