
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
पाथीभरा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित हुने भएको छ । सरकार र आन्दोलनरत पक्षबिच मंगलबार भएको वार्तामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने सहमति भएको हो । स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति समेत भएको छ ।
ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान सङ्घ, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहसहितको मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले विरोध गर्दै आएको छ ।
यस विषयमा द्वन्द्व समेत भइरहेको अवस्थामा गृह मन्त्रालयबाट गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समिति बीच भएको छलफलबाट ६ बुँदे सहमति भएको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद्मा प्रस्तुत अध्यादेशका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन कार्यदल गठन गरेको छ ।
संसद्मा हालै प्रस्तुत अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह सदस्य रहेको एक कार्यदल गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
बजेट कार्यान्वयनमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा समाधान गरी बागमती प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गर्न बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरू सहमत भएका छन् ।
सभामुख भुवनकुमार पाठकको आह्वानमा मंगलबार दिउँसो बसेको सर्वदलीय बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम र बजेटलगायत विषयमा देखिएका असमझदारीलाई सहमतिकै आधारमा टुङ्गो लगाउने तथा प्रदेशसभामा सरकारलाई विधेयकहरू पेस गर्न दिने सहमति कायम भएको हो ।
००००
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको पार्टीमा पछिल्लो समय जनताको आकर्षण बढेको बताएका छन् ।
बागलुङमा आयोजित स्नेह मिलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले १८ महिना सरकारको नेतृत्व गर्दा गरेको कामले जनतामा भरोसा छरेको बताए ।
००००
सरकारले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्रका मुद्दा हेर्ने अधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले तीन जिल्लाभित्रका सम्बन्धित मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको सरकार प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
००००
नेपाल प्रहरीको साइबर ब्यूरोको नक्कली ईमेल आईडी बनाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका विशिष्ट व्यक्तिको नाम र दर्जा दुरूपयोग गरी साइबर ब्यूरोको फेक ईमेल समेत बनाई ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेल र बेलायतका राजकुमार एडवार्डबीच मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा उनले यस्तो धारणा राखेका हुन् ।
००००
नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास प्रमाणपत्र प्राप्त गरेको छ ।
लिमिटेडले सम्पूर्ण मापदण्ड पूरा गरेपछि स्थापना भएको पाँच दशकपछि औषधि व्यवस्था विभागबाट अन्तर्राष्ट्रिय मान्यताको उक्त प्रमाणपत्र प्राप्त गरेको कम्पनीका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए।
००००
पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान शुरू भएको छ ।
१० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मंगलबारदेखि शुरू गरिएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध २ करोड ७० लाख रुपैयाँ बिगो कायम गर्दै चितवन जिल्ला अदालतमा ठगी तथा संगठित अपराधको मुद्दा दर्ता भएको छ ।
मंगलबार दर्ता भएको साहारा सहकारी ठगीको मुद्दामा लामिछानेविरुद्ध कुल बिगो २ करोड ७० लाख ४ हजार ५३७ रुपैयाँ कायम गरिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलका अनुसार गोरखा मिडियामा चार जना प्रतिवादीले कुल १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ ठगी गरी लगेको पाइएको हो । यसअघि नै रविविरुद्ध सहकारी ठगीमा तीन जना मुद्दा दायर भइसकेको थियो ।
००००
लगातार ३ दिनको वृद्धिपछि शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार नेप्से परिसूचक १४ दशमलव ०८ अंकले घटेर १७१५.९१ बिन्दुमा कायम भएको छ ।
००००
नेपाल टेलिकमको ई–सिम अनलाइनमार्फत नै लिन सकिने भएको छ ।
टेलिकमको २१ औं वार्षिकोत्सवमा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले ई–सिम अनलाइनमार्फत लिन सकिने जानकारी दिएकी हुन् ।