
प्रतिनिधिसभा सदस्य देवी भट्टचनले ढोरपाटन र समग्र बागलुङको विकासमा लाग्न आफू प्रतिबद्ध भएको बताएका छन् । ढोरपाटन नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै भट्टचनले यस क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

ढोरपाटन क्षेत्रको विकासमा कृषि, पर्यटन र हाइड्रोपावर नै मुख्य भएको उनले बताए । उनले नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनलाई विकास गर्न थप लागिपर्नुपर्ने बताए ।
जलाशययुक्त विद्युत आयोजना निर्माणको लागि पहल भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह पनि सहभागी थिए । सांसद भट्टचनले बागलुङ र ढोरपाटनको विकासका लागि उपप्रधान तथा शहरी विकास मन्त्री सिंह पनि ध्यानाकर्षण गराए ।
यसअघि तत्कालीन राष्ट्रपति बागलुङ आएको स्मरण गर्दै भट्टचनले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले पनि चाँडै ढोरपाटन आउने बताए ।
