
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराविरुद्ध मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपमा उनीविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत बोहराको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी आयोगमा परेको थियो ।
अनुसन्धानका क्रममा बोहराले जयपृथ्वी नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा सहायक प्रशिक्षक पदमा नियुक्तिका लागि उच्च माध्यमिक शिक्षा परिषद्बाट जारी भएको +२ तहको लब्धाङ्क पत्रको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पाइएको थियो ।
नक्कली प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले उनीविरुद्ध कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।