
बागमती प्रदेशसभाको बुधबारको बैठकमा विभिन्न चार विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल शुरू भएको छ ।
बैठकमा बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्यामन्त्री किरण थापा मगरको तर्फबाट श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरे ।
यसैगरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरे ।
यस्तै, उद्योग, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरे ।
सोही बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गरे ।