
प्रतिनिधिसभामा विपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बोल्ने बेला प्रधानमन्त्री संसद्मा उपस्थित नभएकोमा आपत्ति जनाएका छन् ।
विपक्षी दलको नेताको हैसियतमा संसद्लाई सम्बोधन गर्ने क्रममा शुरूमै प्रचण्डले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका हुन् ।
‘संसदीय लोकतन्त्रको परम्परा अनुसार, प्रधानमन्त्रीले सम्बोधन गर्दा विपक्षी दलका नेता उपस्थित हुने र विपक्षी नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ, सत्तापक्षका नेता पनि आउनु भएको छैन’ प्रचण्डले भने ।
प्रधानमन्त्रीले बोल्ने दिन आफूले संसद्मा उपस्थित भएर कुरा सुनेको उनले बताए ।
प्रचण्ड बोल्दा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा उपस्थित भएका छैनन् ।