
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभामा विपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू बोल्ने बेला प्रधानमन्त्री संसद्मा उपस्थित नभएकोमा आपत्ति जनाएका छन् । विपक्षी दलको नेताको हैसियतमा संसद्लाई सम्बोधन गर्ने क्रममा शुरूमै प्रचण्डले प्रधानमन्त्रीको अनुपस्थितिप्रति आपत्ति जनाएका हुन् ।
‘संसदीय लोकतन्त्रको परम्परा अनुसार, प्रधानमन्त्रीले सम्बोधन गर्दा विपक्षी दलका नेता उपस्थित हुने र विपक्षी नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित रहने परम्परा छ, सत्तापक्षका नेता पनि आउनु भएको छैन’ प्रचण्डले भने । प्रचण्डले यसो भनेको केही समयमा कांग्रेस सभापति शेरबहादुर देउवा संसदमा पुगे । तर, ओली भने देखिएनन् । बरु उनी सोही दिन टिकटकरसँग देखिए । उनले सामाजिक सञ्जालमा आफूले टिकटकरसँग भेट गरेको बताएका छन् ।
आफूलाई भेटेर टिकटकरहरु मिस पवि र अंशु वर्माले नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक पुनः सञ्चालनमा ल्याएकामा धन्यवाद दिएको ओलीको भनाइ छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा उनीहरुले भविष्यमा अघिल्लो सरकारले जस्तै यसलाई बन्द गर्ने खालको कुनै निर्णय नगरी व्यवस्थितरूपमा सञ्चालन गर्न उनीहरुले सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले पहिलेको सरकारले बन्द गरेजस्तो आदेशका भरमा आफूहरु सामाजिक सञ्जाल बन्द नगर्ने स्पष्ट गर्दै सार्वभौम संसद्ले बनाउने कानुनबमोजिम सञ्जाललाई व्यवस्थित गर्ने विश्वास दिलाए ।
अघिल्लो सरकारले २०८० कात्तिक २७ गते टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो भने वर्तमान सरकारले गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपाली कानुनको पालनाको शर्तसहित टिकटकमाथिको प्रतिबन्ध फुकुवा गराएको थियो ।
००००
संसदमै सम्बोधन गर्दै प्रचण्डले ‘सरकार ढल्यो–ढल्यो’ भनेर आफूलाई व्यंग्य गरेका प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका छन् ।
प्रचण्डले आफूले दिएको अभिव्यक्तिलाई प्रधानमन्त्रीले गलत ढंगले व्याख्या गरेको दाबी गरेका हुन् । आफूले अप्राकृतिक ढंगले बनेको सरकार लामो जाँदैन भनेको उनको दाबी थियो ।‘सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकार ढल्यो–ढल्यो भन्नुभयो । यदि आपसमा विश्वास भए यति महिनापछि सरकार देउवालाई हस्तान्तरण गर्छु, ७ दिन अगाडि छाड्नु भन्नुपर्ने थियो र ?’ ओलीलाई कटाक्ष गर्दै प्रचण्डले भने, ‘देउवाले नसुन्ने हो र ? दोर्होयाइरहनुपर्छ र ? शेरबहादुर देउवाका आँखा–कान तगडा छन् ।’ सम्बोधनका क्रममा प्रचण्ड ओलीप्रति आक्रामक हुँदा कांग्रेसलाई ओलीको विश्वास नगर्न उचालिरहेको सुनिन्थे । यस्तै उनले रास्वपाका सभापति रवि लामिछानेलाई सरकारले पेलेको आरोप लगाए ।
००००
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ५४ लाख रूपैयाँ धरौटी मागेको छ ।
बिहीबार भएको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले रविसँग ५४ लाख रूपैयाँ धरौटी माग्ने आदेश गरेको हो । सो धरौटी बुझाएर उनी बिहीबार नै रिहा भएका छन् । यसअघिका तीन जिल्ला अदालतमा भएको मुद्दामा पनि उनी यसैगरी धरौटी बुझाएर रिहा भएका थिए ।
००००
सरकारले चालू आर्थिक वर्ष २०८१–८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत आय व्ययको अनुमान घटाएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट समीक्षा प्रस्तुत गर्दै बजेटको आकार घटाएका हुन्। चालु आर्थिक वर्षमा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च हुने अनुमान गरिएकामा अर्धवार्षिक समीक्षामार्फत रू १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान छ । यो रकम सुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो ।
००००
३ करोड ८ लाख ५० हजार ४ सय रूपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
००००
नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
ग्यास उद्योगीहरूले माघ ३० गतेदेखि फागुन २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । यही माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) खरिद नगर्ने संघले जनाएको छ ।
००००
साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।
बिहीबार नेप्से परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको हो । बिहीबार १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता सेयरको खरिदबिक्री हुँदा ९ अर्ब २४ करोड ७३ लाख ७५ हजार रूपैयाँको कारोबार भएको छ ।
००००
नेपाल विद्युत प्राधिकरणका विवादित प्रबन्ध निर्देशक कुलमान घिसिङ बैठकमै हातपातमा उत्रिएका छन् ।
बुधवार साँझ साढे ५ बजे बसेको माथिल्लो तामाकोशी सञ्चालक समिति बैठकमा कुलमानले ‘तँ तँ र म म’ गर्दै सदस्यमाथि हातपात गरेका हुन् ।
००००
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलेको ‘कुजात’ शब्दबारे संसद्मा स्पष्टीकरणका लागि रुलिङ गर्न एमाले सांसदले सभामुखसँग आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद ईश्वरबहादुर रिजालले प्रचण्डको अभिव्यक्तिबारे सदनमा स्पष्टीकरण माग गरेका हुन् । यसैबीच राष्ट्रिय सभामा पेस हुने भनिएको अध्यादेश बिहीबार पेस हुन सकेन । बैठक अब आइतबार बस्नेछ ।
००००
नेपाली कांग्रेले सरकारले कानुनी अप्ठ्यारालाई मिलाउन र स्पष्ट गर्न ल्याएको अध्यादेशमा जसपा नेपालले समर्थन गर्ने जनाएको छ ।
संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले जसपा सत्तारूढ दलकै बेन्चमा बसेकोले अध्यादेशमा समर्थन गर्ने बताएका हुन् ।
००००
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादीले २०५२ सालमा शुरू गरेको सशस्त्र संघर्ष हिंसा नै भएको बताएका छन् ।
उनले हिंसामा मर्ने र मार्ने काम हुने भन्दै माओवादीले १० वर्षसम्म चलाएको युद्ध हिंसा नै भएको टिप्पणी गरे ।