
उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । आज काठमाडौं महानगरपालिका– २९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए ।
'संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?,' उनले प्रश्न गने, 'तपाईं हामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुपर्यो १ राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।'
उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गर्नुभयो ।
यसैगरी उनले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए ।
उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौं क्षेत्र नम्बर १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।